नवलपरासी : नवलपरासीमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा नै भर्ना गराउनु पर्ने निर्णय भएको छ।
कावासोती– ३ स्थित जीवनज्योति माविमा कार्यरत शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई नजिकको सामुदायिक विद्यालय वा आफैले अध्यापन गराउने विद्यालयमा अध्ययन गराउनु पर्ने निर्णय अभिभावक भेलाले गरेको हो।
आगामी वर्षदेखि लागू हुने गरी सामुदायिक विद्यालयमा आफ्ना बालबालिका भर्ना नगराउने विद्यालयका शिक्षक र कर्मचारीलाई विद्यालयमा हाजिर हुन नदिने निर्णयसमेत गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए।
सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने गरेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न नसकेको गुनासो आइरहेको थियो।
नवलपरासीका केही विद्यालयले यस्तो निर्णयलाई कार्यान्वयनमा ल्याइसकेका छन् भने केही विद्यालय कार्यान्वयनमा लैजाने चरणमा छन् । रासस