
काठमाडौं : स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी उपचार गराएर सक्षम बनाउनुपर्ने बताएका छन्।
मौसमी रुघाखोकीको समस्या देखिएपछि एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किनुअघि पत्रकारसँग कुरा गर्दै मन्त्री पोखरेलले सरकारी अस्पताललाई विश्वास गर्न आग्रह गरे।
उनले भने,‘ मन्त्री हुनु पहिले पनि मैले वीरमा भर्ना भएरै उपचार गराएको छु, सरकारी अस्पतालले गुणस्तरीय सेवा दिन्छन् भन्ने विश्वास लिएर आएको थिएँ त्यही विश्वासलाई बलियो बनाएर राम्रो सेवा लिएर घर फर्कँदैछु।’
सामान्य उपचारका लागि निजी अस्पताल र विदेश नै धाउनु पर्ने भए मन्त्री पोखरेलले चिकित्सकले सिफारिस गर्ने हुँदा देशभित्रकै अस्पतालमा विश्वास गर्न आग्रह गरे।
वीर अस्पतालका निर्देशक डा. भूपेन्द्रकुमार बस्नेतले मन्त्री पोखरेल अस्पताल भर्ना हुँदा ज्वरो, रुघाखोकी र छातीमा संक्रमणको समस्या देखिएको जानकारी दिए।
परीक्षणका क्रममा मौसमी रुघाखोकी एचवान एनवान देखिएकाले पाँच दिनको औषधि दिइएको निर्देशक बस्नेतले बताए। मन्त्रि पाेखरेललार्इ अझै केही दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन्। पोखरेललाई पहिलेदेखि नै मधुमेह र प्रोष्टेटको समस्या पनि रहेकाे छ। रासस