
- रमेश लम्साल
राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक सम्बन्धी अवधारणापत्र र कार्यायोजना, २०७२ लाई कार्यान्वयन गर्ने लक्ष्यका साथ प्राधिकरणले त्यस्तो नीति लिएको हो।
प्राधिकरणले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि जडान भएका सौर्य प्रणालीबाट विद्युत् खरिद गर्ने र त्यस्तो विद्युत् ‘नेट मिटरिङ’ गर्ने तयारी गरेको हो।
उपभोक्तालाई आवश्यक परेको समयमा विद्युत् उपलब्ध गराउँदै आएको प्राधिकरणले दिउँसोको समयमा भने सौर्य प्रणालीबाट उत्पादित विद्युत् खरिद गर्ने निर्णय गरिसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
ऊर्जा संकटकालसम्बन्धी कार्ययोजनाको बुँदा नम्बर ५२ ख मा समेटिएको प्रावधानअनुसार नै राष्ट्रिय प्रसारण लाइन तथा वितरण प्रणाली पुगेका स्थानबाट विद्युत् खरिद गर्ने निर्णय गरेको छ।
विद्युत् बेच्न इच्छुक ग्राहकले सम्बन्धित वितरण केन्द्रसमक्ष सौर्य प्रणालीको क्षमता खुलाई अन्य प्राविधिक विवरण एवं उक्त प्रणालीको सम्पूर्ण जानकारी खुलाइ निवेदन दिनुपर्नेछ।
प्राधिकरण आफूले उपलब्ध गराएको र ग्राहकबाट प्राप्त हुने विद्युतकाे सम्पूर्ण हिसाब गर्नेछ । त्यसबाट ग्राहकलाई तिर्नुपर्ने भए प्राधिकरणले भुक्तानी गर्नेछ। त्यस्तो भुक्तानीको दर भने आपसी सहमतिमा तय हुनेछ।
प्राधिकरणका अनुसार ग्राहकले जडान गर्ने सौर्य प्रणालीको न्यूनतम क्षमता ५०० वाट हुनुपर्नेछ। भोल्टेज स्तरअनुसार ‘नेट मिटरिङ’ का लागि २३० भोल्टमा पाँच किलोवाटसम्म, ४०० भोल्टमा पाँच किलोवाटदेखि ४० किलाेवाटसम्म र एक हजार १०० भोल्टमा ४० किलोवाटभन्दा माथिको क्षमता रहनुपर्नेछ।
प्राधिकरणले सौर्य प्रणालीबाट प्राप्त हुने ऊर्जाको औसत वार्षिक खपतको ९० प्रतिशतभन्दा बढी नहुने गरी ग्राहकले सौर्य प्रणाली जडान गरेको हुनुपर्ने बताएको छ।
उत्पादन हुने ऊर्जाको क्षमता र उपलब्ध हुने प्रणालीको विश्लेषणका आधारमा प्राधिरकणले फरक क्षमताको मिटर जडान गर्नेछ।
प्राधिकरणले सौर्य ऊर्जा खरिदका लागि गत वैशाख १३ गते नै निर्णय गरेकामा पनि अब भने कार्यान्वयनमा ल्याउन लागेको हो।
व्यावसायिक रुपमा सौर्य ऊर्जा उत्पादन गर्न लागेकाको विद्युत् खरिद सम्बन्धी छुट्टै कार्य विधिका आधारमा काम गरिरहेको प्राधिकरणले घरायसी प्रयोजनाका लागि जडान भएका प्रणालीबाट पनि विद्युत् खरिदको नयाँ व्यवस्था गरेको छ।
प्राधिकरणको नयाँ व्यवस्थापछि विद्यालय, उद्योग प्रतिष्ठान, सार्वजनिक स्थान तथा अन्य कुनै प्रयोजनका लागि जडान भएका सौर्य प्रणालीबाट उत्पादित विद्युत् खेर जाला कि भन्ने चिन्तासमेत गर्नु नपर्ने भएको छ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अभियानका रुपमा सुरु गरेको सहरी सौर्य प्रणाली कार्यक्रमबाट लाभान्वित भएका ग्राहकसमेत प्राधिकरणको पछिल्लो निर्णयबाट थप लाभ हासिल गर्न सक्नेछन्।
सौर्य प्रणालीबाट विद्युत् उत्पादन गर्न चाहनेलाई थप उत्साहित गराउने लक्ष्यका साथ प्राधिकरणले नयाँ प्रणाली विकास गरेको प्राधिकरण सञ्चालक समितिका सदस्य चेतराज जोशीले जानकारी दिए।
प्राधिकरणले हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले उत्पादन गरिरहेको ६८० किलोवाट क्षमताको सौर्य प्रणालीको ‘नेट मिटरिङ’ गरिरहेको छ।
यस्तै, नेपाल इञ्जिनियरिङ एसोसियसनको केन्द्रीय कार्यालयमा जडान भएको सौर्य प्रणालीको पनि ‘नेट मिटरिङ’ सुरु भएको सो संस्थाका अध्यक्ष हरेराम श्रेष्ठले जानकारी दिए।
विद्युत् विकास विभागका अनुसार हालसम्म औद्योगिक एवं व्यावसायिक प्रयोजनका लागि अपि पावरले २० मेगावाट क्षमताको सौर्य प्रणाली जडानको प्रक्रिया सुरु गरेको छ।
विभागले हालसम्म कूल ३२ वटा कम्पनीलाई सौर्य प्रणाली जडान सम्बन्धी अनुमति दिएको छ। ती आयोजनाको कूल क्षमता १९५ मेगावाट छ। रासस