PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

पर्यटकको चाप बढ्दै खुम्बुमा



रासस

 पर्यटकको चाप बढ्दै खुम्बुमा

सोलुखुम्बु :  सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरु भएको छ। वर्षायाम सकिएसँगै भदौको मध्यदेखि कार्तिक महिनाभरी खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्दछ।

पर्यटक नआउने महिना असार/साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल बढेको खुम्जुङका होटल व्यवसायी सोनाम छिरिङ शेर्पाले जानकारी दिए। 

वर्षा सकिएसँगै खुम्बुमा होटल, पसल, रेस्टुराँ तथा लजको सरसफाइ र आवश्यक सामग्रीको जोहो गर्न लागिएको लुक्लाकी होटल व्यवसायी दावाफुटी शेर्पाले बताइन्।

उनकाअनुसार भदौको अन्त्यदेखि पर्यटकको आगमन निकै बाक्लो हुन्छ। अहिले पनि दैनिक १०० भन्दा बढी पर्यटक लुक्लाबाट उकालो लाग्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्ज जोरसल्ले चेकपोष्टले जनाएको छ। 

सगरमाथा क्षेत्रमा वर्ष भरिमा यही मौसममा सबैभन्दा बढी विदेशी पर्यटक आउने गरेको तथ्यांक छ। प्रकृतिक सुन्दरता देखिने यो मौसममा लेकसमेत कम लाग्ने स्थानीयको भनाइ छ।

मौसम सुरु भएसँगै लुक्ला विमानस्थलमा हवाइजहाज र हेलिकप्टरको चाप बढेको छ। तारा एअर लुक्लाका इन्चार्ज फुनुरु शेर्पाकाअनुसार अहिले लुक्लामा दैनिक १२/१५ उडान हुुन थालेका छन्। अबको १५ दिनमा दैनिक ७०/८० वटा उडान हुने गर्दछन्। 

विसं २०७१ मा सगरमाथा हिमपहिरो र २०७२ मा भूकम्पको असर र भारतीय नाकाबन्दीका कारण विसं २०७३ को यो मौसममा खुम्बुमा पर्यटक आगमन निकै कम भएको थियो।

गत वैशाख जेठमा खुम्बुमा पर्यटकको आगमन अहिलेसम्मकै बढी भएकाले यो मौसममा पनि पर्यटकको आगमन राम्रो हुने अनुमान छ। 

सुरुवातमै पर्यटकको आगमन राम्रो भएकाले आफूहरु उत्साहित भएको नाम्चेका व्यवसायी फुर्वाल्हामु शेर्पाले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell