
पर्वत : पर्वतको फलेवास नगरपालिभित्रका सबै सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि अंग्रेजीमा पढाइ सुरु गरिने भएको छ।
नगरभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले आगामी शैक्षिक सत्रदेखि अंग्रेजीमा पढाइ सुरु गर्ने तयारी भएको हो। नगरपालिका भित्र ६२ वटा सामुदायिक विद्यालय छन्।
सुरुमा सबै विद्यालयको प्राथमिक तहबाट अंग्रेजी माध्यममा पढाइ सुरु गर्ने र विस्तारै माध्यमिक तहसम्म विस्तार गरिने नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिए।
पछिल्लो समय गुणस्तरीय शिक्षाका लागि भन्दै गाउँबाट बसाइँसराइ गर्ने र निजी विद्यालयतर्फ सर्वसाधारणको आकर्षण बढ्दै जान थालेपछि नगरपालिकाले यो अभियान थालेको हो।
नेपाली र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थी बीच शैक्षिक भिन्नता पाइएपछि हाल सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएकाले आउँदो वर्षबाट अनिवार्य रुपमा लागू हुने गरी नगरभित्रका सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको उनले जानकारी दिए।
आगामी वर्षदेखि अंग्रेजी माध्यमका लागि विषयगत शिक्षकको व्यवस्था गरी सामुदायिक विद्यालयकै सुविधा र शुल्कमा पूर्ण अंग्रेजी माध्यमबाट पठनपाठन गराउनका लागि विद्यार्थी शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध कायम गरी नगरभित्रका सम्पूर्ण विद्यालयमा सुधारका कार्ययोजनासमेत बनाउँदै नगरलाई नमूना नगर बनाउने शर्माको भनाइ छ।
त्यसै गरी, नगरपालिकाले अबदेखि शुक्रबारका दिन पनि चार बजेसम्म विद्यालय अनिवार्य रुपमा खोल्नुपर्ने र दिउसो एक बजेपछि अतिरिक्त क्रियाकलाप नगरी विद्यालय बन्द गर्ने परम्परासमेत हटाएको छ।
यस्तै, नगरभित्रका विद्यालयले अबदेखि वर्षको चारपटक कक्षा जाँच तथा परीक्षा अनिवार्य गर्नुपर्ने भएको छ।
परीक्षापछि अनिवार्य रुपमा उत्तर पुस्तिका विद्यार्थीलाई उपलब्ध गराई अभिभावकको संलग्नतामा नतिजा विश्लेषण गर्ने र सुधारका कार्ययोजना बनाउने निर्णयसमेत नगरपालिकाले गरेको नगर उपप्रमुख मञ्जु अधिकारीले बताइन्।
शैक्षिक सुधारका लागि नगरपालिकाको पहलमा नगरभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकले १७ बुँदे साझा प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन्।
प्रतिबद्धता पत्रमा विद्यार्थीको मसान्तसम्मको मूल्यांकन गर्ने, शिक्षक समय तोक्ने, प्रत्येक विद्यालयमा शैक्षिक सामग्रीको व्यवस्था मिलाउने, प्रत्येक महिना अभिभावकसंग छलफल गर्ने, कम्तीमा महिनामा एक पटक अभिभावकसँग अन्तक्र्रिया गर्नेलगायतका कुरा उल्लेख छन्।
उल्लिखित प्रतिवद्धता कार्यान्वयन नगरे कारबाही गर्ने नगर प्रमुख शर्माको भनाइ छ। रासस