PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

भेटियो हराएको भनिएको बाह्रसिंगे 



रासस

चितवन :  चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत पद्मपुरस्थित खुला खोरबाट बाढीपछि हरायो भनिएको संरक्षित वन्यजन्तु बाह्रसिंगे भेटिएको छ। 

बाढीका कारण खुलाखोर भत्किएपछि त्यहाँबाट हराएको भनिएको चार वटा बाह्रसिंगेमध्ये एउटा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए। 

कँडेलका अनुसार अर्ना र बाह्रसिंगे राखिएको खुला खोरको अनुगमनमा एउटा बाह्रसिंगे भेटिएको र अन्य तीन वटाको भने अवस्था थाहा हुन सकेको छैन।

बाढीले खुला खोरको तारजाली भत्काएकाले त्यहीबाट बाह्रसिंगे भागेको अनुमान कँडेलले गरेको छ। 

चितवन राष्ट्रिय निकुञ्जले शुक्लाफाँटाबाट सात वटा बाह्रसिंगे ल्याएर खुला खोरमा राखेको थियो। त्यसमध्ये तीन वटा यसअघि नै मरिसकेका छन्।

चार वटा बाँकी रहेका बाह्रसिंगे सबै बाढीपछि हराएको भनेर निकुञ्जले सार्वजनिक गरेको थियो तर अनुगमनमा एउटा फेला परेको हो। 

खोरमा रहेका १२ वटा अर्ना भने सकुशल र तन्दुरुस्त रहेको निकुञ्ज प्रमुख कँडेलले जानकारी दिए। 

१५ वटा अर्ना ल्याइएकामा ललितपुरको सदर चिडियाखानाबाट ल्याइएका तीन वटा अर्ना मरेकाले हाल यहाँ १२ वटा अर्ना छन्। 

वन्यजन्तुको प्रजाति संरक्षणका लागि अघिल्लो वर्ष पूर्वी नेपालको कोशीटप्पुबाट अर्ना ल्याइएको थियो भने पश्चिम शुक्लाफाँटाबाट यहाँ बाह्रसिंगे ल्याइएको थियो। 

यसै बीच, निकुञ्जले बाढीले बगाएका आठ वटा गैँडाको उद्धार गरेर पुरानै बासस्थानमा फर्काएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell