चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेले सात वटै प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार गठन गर्ने दाबी गरेका छन्।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठकलाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले २ नम्बर प्रदेशमा पनि एमाले पहिलो हुने दाबी गरे।
उनले भरतपुर महानगरपालिकामा आफ्ना पार्टीका उम्मेदवारलाई धाँधली गरेर हराइएको आरोप लगाए। एमालेविरुद्ध अनेक मोर्चाबन्दी भइरहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यस्ता मोर्चाबन्दीले कुनै असर पार्न नसक्ने बताए।
उनले विद्यार्थीहरुलाई चुनाव केन्द्रीत एजेण्डामा छलफल गरेर निर्वाचनमा जुट्नसमेत निर्देशन दिए।
एमाले देश बनाउने संकल्पका साथ लागेकाले राष्ट्रिय समृद्धिका लागि एमालेमा समाहित हुन सबैलाई आग्रह गरे।
अबका निर्वाचनपछि देशमा शान्ति, सुव्यवस्था र अमनचयनसँगै देश समृद्धितर्फ अगाडि बढ्ने भन्दै ओलीले यो सबैको नेतृत्व एमालेले गर्ने बताए।
एमाले सहअस्तित्व, सद्भावना र राष्ट्रिय एकताको पक्षमा रहेको भन्दै शान्ति विरोधीहरुको प्रतिवादमा पनि पार्टी जुट्ने बताए।
कार्यक्रममा ओलीले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुलाई अबिर र माला लगाएर स्वागत गरेका थिए।
तीन दिनसम्म चल्ने बैठकमा देशभरका ५०० प्रतिनिधि, १०० पर्यवेक्षक र १०० स्वयंसेवक सहभागी छन्। रासस