काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धि विधेयक संसदले आजै पारित गर्ने भएको छ। राज्य व्यवस्था समितिले
संसदमा लगेका विधेयकहरु आजै पारित गर्न लागिएको हो। त्यसका लागि संसदका तीनवटा बैठक राखिएको छ।
संसद्को दोस्रो बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्बन्धि विधेयकको प्रतिवेदन संसद्मा पेश गरेका हुन्।
दफावार छलफलका लागि संसदले गत साउन १५ गते पठाएका विधेयकहरु समितिमा सांसदहरुले राखेका संशोधन प्रस्तावले खडा गरेका विवादका कारण रोकिएको थियो। बिहान बसेको बैठकमा गृह मन्त्रीले विधेयक पारित नगर्दा निर्वाचन नै प्रभावित हुने भन्दै विधेयकमा रहेको 'नो भोट'को व्यवस्था फिर्ता लिँदै बाँकी कुनै पनि संशोधन नरहने गरी संशोधन फिर्ता लिन आग्रह गरेका थिए।
गृह मन्त्री शर्माको आग्रहअनुरुप संशोधनकर्ता सबै सांसदले फिर्ता लिएपछि समितिले विधेयकलाई सर्वसमतिले पारित गरेको थियो। समितिबाट पारित प्रतिवेदन संसदबाट आजै पारित गर्ने गरी संसद्को तेस्रो बैठकबाट पारित हुनेछ।
संसदको आजको तेस्रो बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पेश गरेका छन्।
संसदको बिहान ११ बजे बसेको पहिलो बैठकमा २०५६ सालमा मध्यपश्चिमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने एमालेको सांसद वीरबहादुर सिंहको शोक प्रस्ताव पारित गरेर सकिएको थियो।
संसदको दिउँसो एक बजे बजेको बैठकमा सभापति घर्तीले विधेयक प्रस्तुत गरेका हुन्।