- वसन्तराज उप्रेती
आपूर्ति व्यवस्थापन विभागले सोमबार गरेको अनुगमनमा सेलको नाममा उपभोक्तालार्इ बढी रकम असुलेर सामान बिक्री गरेको पाइएको हो।विभागका महानिर्देशक कुमारप्रसाद दाहालले दुर्इ सय प्रतिशतसम्म मुनाफा लिएर 'सेल'का नाममा उपभोक्ता ठगी गरेको पाइएको बताए।
'सेलका नाममा उपभोक्तालार्इ बढी मूल्य राखेर सामान बिक्री गरेको पाइयो। यो ठगी नियन्त्रणका लागि हामीले अनुगमन सुरु गरेका हौ' उनले भने। टोलीले धेरै मुनाफा लिएर सामान बिक्री गरेको भेटिएपछि ती पसलमा सील गरेको छ।
दरबारमार्गका नाइक,वेन्टले,स्टोर वान र पुमाको बिलविजक हेर्दा दुर्इ सय प्रतिशतसम्म नाफा लिएको भेटिएको उनले बताए। उनकाअनुसार नाइकले २६ सयमा किनेको जुत्ता २६ हजार रुपैयाँमा बिक्री गरेको पाइएको छ। 'यो सरासर उपभोक्तालार्इ लुट्ने काम हो। २६ सय रुपैयाँको जुत्ता २६ हजार रुपैयाँमा बिक्री गरिएको छ'दाहालले भने।
दरबारमार्गमा रहेका धेरै ब्राण्डेड शपले सेलका नाममा अतिरिक्त नाफा राखेर बिक्री गरेको पाइएको छ। उनका अनुसार यो पसललार्इ बढी मुनाफा लिएको आधारमा कालोबजारी ऐन आकर्षित हुनेछ। टोलीमै रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले सेलमा पचास प्रतिशतसम्म छुट भनेर उपभोक्तालार्इ ठगी गरेको पाइएको बताए।
'सेल भनेको स्टक क्लियरेन्सका लागि सस्तोमा सामान बिक्री गर्ने भन्ने हो। तर यहाँ सस्तोमा बिक्री गर्नुको साटो बढी मूल्य निर्धारण गरेर उपभोक्तालार्इ भ्रममा पारेको पाइएको छ,' उनले भने, 'कालोबजारी, भ्रामक विज्ञापन र विलविजकको आधारमा कर छलीमा समेत कार्वाही प्रकृया अघि बढाउनुपर्छ।'