.jpg)
काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट भदौ २८ गतेबाट वितरण गर्ने भएको छ। यसपाली राष्ट्र बैंकले तीन सरकारी बैंकमार्फत् पनि सटही सुविधा उपलब्ध गराउने भएको छ। निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइने छ।
राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोटप्रति व्यक्ति २० हजार रुपैयाँसम्म उपलब्ध गराउने भएको छ। यसअघि राष्ट्र बैंकले काठमाडौंस्थित बैंकिङ कार्यालय र आफ्ना क्षेत्रीय कार्यालयहरुबाट नयाँ नोट सटही गर्थियो। यसपाली सर्वसाधारणको सुविधाका लागि नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने ब्यवस्था मिलाएको छ।निजी क्षेत्रका बैंकहरुले राष्ट्र बैंकबाट पैसा लगेर आफूले चिनेजानेकाहरुलाई मात्र सटही सुविधा दिएको गुनासो बारम्बार आउन थालेपछि तीन सरकारी बैंकमार्फत राष्ट्र बैंकले साटेजस्तै माग्न आउनेजतिलाई वितरण गर्ने ब्यवस्था मिलाएको हो।
नेपाल बैंकको काठकाडौं बैंकिङ अफिस, न्यूरोड, बालाजु, पाटन, किर्तिपुर र भक्तपुरबाट सटही सुविधा पाइन्छ। राष्ट्र बाणिज्य बैंकको सिंहदरवार प्लाजा, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्शाल शाखाबाट पनि सटही सुविधा लिन पाइन्छ। साथै कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सटही सुविधाको व्यवस्था मिलइएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए।
राष्ट्र बैंकमै गएर साट्नेहरुले भने प्रति ब्यक्ति २७ हजार रुपैयाँसम्म नयाँ नोट पाउने छन्।
निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थालाई भने सर्वसाधारणलाई नयाँ नोट वितरण गर्न राष्ट्र बैंकले साढे तीन करोडदेखि ११ करोड रुपैयाँसम्म उपलब्ध गराउने जनाएको छ। राष्ट्र बैंकको क्षेत्रीय कार्यालयहरु र उसको मातहतमा सञ्चालित नोटकोष रहेका बाणिज्य बैंकहरुले पनि भदौ २८ गतेबाट नयाँ नोट सटही गर्ने छन्।
दसैंको नयाँ नोट भदौ २८ गतेबाट, सरकारी बैंकमा गए २० हजार, राष्ट्र बैंकमै गए २७ हजार रुपैयाँ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।