
काठमाडौं : संसदले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन विधेयक पारित गरेको छ। पारित विधेयकहरुले प्रतिनिधिसभामा तीन प्रतिशत र प्रदेशसभामा एक दशमलव पाँच प्रतिशत 'थ्रेस होल्ड'को व्यवस्था गरेको छ।
तर, विधेयकले प्रस्ताव गरेको प्रत्यक्षतर्फ कम्तिमा एक सिट नजितेमा समानुपातिक तर्फ प्राप्त मतबाट प्रतिनिधित्व नहुने विषय भने हटाएको छ। संसदको राज्य व्यवस्थाम समितिले त्यो व्यवस्था हटाएको हो।
समितिले हटाएको विषय विधेयकबाट हटेपछि अब समानुपतिक तर्फ खसेको कुल मतको तीन प्रतिशत मत प्राप्त गर्नेले प्रतिनिधिसभामा प्रतिनिधित्व पाउने भएको छ। त्यसैगरी प्रदेशसभामा पनि प्रत्यक्षतर्फ एक सिट पनि नजित्ने दलले पनि खसेको कुल मतको एक दशमलव पाँच प्रतिशत मत ल्याएमा प्रदेशसभामा प्रतिनिधित्व पाउने छन्।
दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ एक सिट पनि नजितेको राप्रपा नेपालले समानुपातिक मतकै आधारमा २४ सिट जितेर चौथो दलको हैसियत पाएको थियो। उसले मन्त्रिपरिषदबाट मनोनित हुनेमा पनि एक सिट पाएपछि उसको संसदमा २५ सिट भएको थियो।
राप्रपाभन्दा धेरै कम मत प्राप्त गर्ने पनि धेरै दलहरुले एकसिट सम्मको प्रतिनिधित्व संविधानसभामा पाएका थिए। अब राप्रपा जस्ता धेरै मत प्राप्त गर्ने दलले संसदमा प्रतिनिधित्व पाए पनि तीन प्रतिशत भन्दा कम मत पाउने दलहरु मात्र प्रतिनिधित्वबाट बन्चित हुनेछन्।