
युरोपियन राष्ट्रद्वय जर्मनी र इंगल्याण्ड अर्को वर्ष रसियामा हुने विश्वकपको नजिक पुगेका छन्। गएराती भएको युरोपेली छनोटको खेलमा दुवै टोलीले जित हात पार्दै समूहमा शीर्ष स्थानमा रहेका छन् भने दोस्रो स्थानमा रहेको टिमसँग ५ अंकको अग्रता लिएका छन्। अब छनोटमा दुई खेल मात्र हुन बाँकी छ। यस्तोमा एक एक अंक हासिल गरे पनि यी दुई राष्ट्रले विश्वकपमा स्थान बनाउनेछन्।
समूह सी को अलमा जर्मनीले नर्वेमाथि ६-० को प्रभावशाली जित निकाल्दा टिमो वेनरले २ गोल गरे। यस्तै मेसुट ओजिल, युलियज ड्राक्सलर, लियोन गोरेज्का र मारियो गोमेजले एक एक गोल गरे।
जितपछि ८ खेलबाट जर्मनीको २४ अंक छ। यता चेक रिपव्लिकलाई २-० ले पराजित गरेको उत्तरी आयरल्याण्ड १९ अंकका साथ दोस्रो स्थानमा छ। यसै समूहको अर्को खेलमा अजरवैजानले सान मारिनोलाई ५-१ ले हरायो।
यता समूह एफ मा एक गोलले पछि परेर पनि इंगल्याण्डले स्लाकियालाई २-१ ले हरायो। स्टानिनसलाभ लोबोत्काले गोल गर्दै तेस्रो मिनेटमा स्लोभाकियालाई अग्रता दिलाएका थिए। इंगल्याण्डका एरिक डाएरले ३७औँ मिनेटमा बराबरी गोल फर्काए। भने मार्कुस रासफोर्डले दोस्रो हाफमा विजयी गोल गरे।
जितपछि ८ खेलबाट इंगल्याण्डको २१ अंक छ। हारे पनि समान खेलबाट १५ अंक रहेको स्लोभाकिया दोस्रो स्थानमा छ।
समूह एफको अन्य खेलमा स्लोभेनियाले लिथवुनियालाई ४-० तथा स्कटल्याण्डले माल्टालाई २-० ले हराएको छ।
यसै गरी समूह ई मा कजाखस्तानलाई ३-० ले पराजित गर्दै पोल्याण्ड शीर्ष स्थानमा रहन सफल भएको छ। ८ खेलबाट पोल्याण्डको १९ अंक छ। रोमानियालाई १-० ले हराएको मोन्टेनेग्रो र अरमेनियालाई ४-१ ले हराएको डेनमार्कको समान १६ अंक छ। गोल अन्तरमा मोन्टेनेग्रो र डेनमार्क क्रमश: दोस्रो र तेस्रोमा छ।