PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

स्थानीय निर्वाचनः औद्योगिक नगरी वीरगन्जकाे कस्ले समाल्ला कमाण्ड?



राधेश्याम पटेल

स्थानीय निर्वाचनः औद्योगिक नगरी वीरगन्जकाे कस्ले समाल्ला कमाण्ड?

वीरगञ्ज : औद्योगिक नगरी, वीरगञ्जको पुरानो परिचय। प्रदेश २ को एकमात्र महानगर भारतको नाकाबन्दीपछि आर्थिक रुपमा केही सुस्ताएको। तर, २० वर्षपछिको स्थानीय चुनावका कारण वीरगञ्जको माहोल यतिबेला गरम छ।

२०७२ असोज ३ गते संविधान जारी हुनुभन्दा अघिदेखि आन्दोलनमा होमिएका स्थानीय यतिबेला चुनावमा होमिएका छन्। राजनीतिक दल मतदाताको घरदैलोमा छ। 

काठमाडौंको लाइफलाइन आर्थिक नगरी वीरगन्ज धनीहरुको गरीब शहरको रुपमा परिणत भइरहेको छ। मतदाता वीरगञ्जको ‘बेडा’ कसले पार लगाउला भन्ने द्विविधामा छन्। चुनावी भिडन्तमा राजनीतिकर्मीदेखि धनाढ्यसम्म होमिएका छन्।

देशकै राजस्वमा ठूलो हिस्सा ओगट्दै आएको वीरगञ्ज पछिल्लो समय कमजोर बन्दै गएको छ। राजनीतिक अस्थिरता र मधेस आन्दोलनको रापमा जलेको वीरगञ्ज आर्थिक र सामाजिक चेतमा पनि कुरुप बन्दै गएकाे छ। आन्दोलनको केन्द्र बन्न थालेपछि वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरबाट अहिले उद्योग तथा औद्योगिक घराना अन्य नाका र शहरमा स्थानान्तरण भइसकेका छन्।

काठमाडौंपछि दोस्रो ठूलो महानगर र आर्थिक नगरीको पहिचान पाएको वीरगञ्जको मेयर पद जित्नु र खरो उत्रिनु त्यति सहज छैन। वीरगञ्जवासीको भनाई छ –जसले चुनौतीलाई अवसरको रुपमा स्वीकार गर्छ उसैले बाजी मार्छ।


मेयरको चर्चा

मेयर पदमा राजपाबाहेक चार प्रमुख दलले उम्मेदवारी घोषणा गरिसकेका छन्। 

वीरगञ्ज महानगरको मेयरमा नेपाली कांग्रेसले जिल्ला सभापति अजय द्विवेदी, नेकपा एमालेले नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारी, नेकपा माओवादी केन्द्रले गण्डक हस्पिटल सञ्चालक रहबर अन्सारीलाई उम्मेदवार बनाएको छ। संघीय समाजवादी फोरम नेपालले पार्टीका मधेस प्रदेश कोषाध्यक्ष विजय सरावगीलाई मेयरमा लडाउँदैछ। राजपाको मेयर उम्मेदवारका लागि पूर्वमेयर समेत रहेका विमल श्रीवास्तव र पार्टीका महासचिव राजेशमान सिंह बीच रस्साकस्सी चलिहेको छ।

 

यस्ता छन् प्रमुख दलका उम्मेदवार

कांग्रेस पर्साका सभापति द्विवेदी २०४९ सालको स्थानीय निकायको निर्वाचनमा वीरगञ्जको उपमेयरमा निर्वाचित भएका थिए। पहिलो संविधानसभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट चुनावमा निर्वाचित भएका द्विवेदी, दोश्रो संविधानसभा निर्वाचनमा त्यही क्षेत्रबाट पराजित भएका थिए।

नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका द्विवेदी, पार्टी सभपति शेरबहादुर देउवा निकट मानिन्छन्। कांग्रेस नेता विमलेन्द्र निधिको सामीप्यमा रहेका द्विवेदीलाई मेयरमा उम्मेदवार बनाउने जिल्लाका प्रायः सबै नेता एकमत देखिएका छन्।

वीरगञ्जको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक रहेका बसरुद्दीन अन्सारीलाई नेकपा एमालेले वीरगञ्ज महानगरको मेयरमा उम्मेदवार बनाउँदै चुनावी मैदानमा उतारेको छ। दोश्रो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट चुनाव लडेर पराजित भएका अन्सारी आसन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्जको मेयर पदको टिकट पाउने आश्वासनमै गत जेठमा माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।

लामो समयदेखि पार्टीमा लागेका र जेलनेल भोगेका नेता कार्यकर्तालाई पाखा लगाएर नवप्रवेशी अन्सारीलाई मेयरको टिकट दिएपछि पार्टीका सक्रिय नेता कार्यकर्ताहरु असन्तुष्ट छन्। मधेसमा एमालेलाई मधेस विरोधी दल भनेर गरिएको प्रचारका कारण जनाधार कम आकलन गरिएको वीरगञ्जमा पार्टीले अन्सारीलाई चुनावी मैदानमा उतारेपछि अन्सारीकै कारण वीरगञ्जमा एमालेको चर्चा तुलनात्मक रुपमा बढेको छ।

नेकपा माओवादी केन्द्रले भने वीरगञ्जको मेयरमा युवा उम्मेदवार रहबर अन्सारीलाई चुनावी मैदानमा उतारेको छ। मेयरका लागि अहिलेसम्म अगाडि सारिएका अन्य दलका उम्मेदवारमध्ये रहबर सबैभन्दा कान्छा उम्मेदवार हुन्। युवाहरु माझ लोकप्रिय छवि बनाउन सफल ३१ वर्षीय रहाेबर नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य र माओवादी केन्द्र निकट मुस्लिम मुक्ति मोर्चाको केन्द्रीय सदस्य पनि हुन्।

हङ्गेरीको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नातकोत्तर अध्ययन सकेर स्वदेश फर्किएका रहबर वीरगञ्जको गण्डक चोकमा रहेको गण्डक हस्पिटलका सन्चालक पनि हुन्।


फोरम नेपालबाट विजय सरावगी

वीरगञ्ज महानगरको मेयरमा फोरम नेपालले उद्योग पति विजय सरावगीलाई उम्मेदवार बनाएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघमा दुई पटक कार्यकारिणी सदस्य समेत रहेका सरावगी फोरम नेपालको मधेस प्रदेश कोषाध्यक्ष पनि हुन्। वीरगञ्ज महानगरको शिक्षा, स्वास्थ्य, धार्मिक लगायतका क्षेत्रका भौतिक संरचना निर्माणमा आर्थिक सहयोग गरेका कारण सरावगी वीरगञ्जमा समाज सेवीका रुपमा पनि परिचत छन्।

सरावगी ग्रुप अफ इण्डस्ट्रिजका अध्यक्ष समेत रहेका सरावगी गत चैत ६ गते फोरम नेपालमा प्रवेश गरेसँगै पार्टीले वीरगन्जको मेयरमा उनलाई नै उम्मेदवार बनाउने चर्चा चलेको थियो। उद्योगी व्यपारीको बाक्लो बसोबास रहेका कारण आसन्न निर्वाचनमा अन्य दलको उम्मेदवारभन्दा सरवागीलाई माडवाडी समुदाय र उद्योगी व्यपारीको समर्थन बढी रहने आकलन गएिको  छ।


राजपमा रस्साकस्सी

चुनावमा भाग लिने निर्णय गरेसँगै वीरगञ्जको मेयर पदको उम्मेदवारका लागि राजपामा विमल श्रीवास्तव र राजेशमान सिंह बीच रस्साकस्सी चलिरहेको छ। जसका कारण राजपा नेतृत्वले मंगलबारसम्म मेयरको टुङ्गो लगाउन सकेको छैन। राजपबाट वीरगञ्जको मेयरका लागि पूर्व मेयर श्रीवास्तव र केन्द्रीय महासचिव सिंह दुबैले अडान लिइरहेका कारण पार्टी नेतृत्वले उम्मेदवारको टुङगो लगाउन नसकेको हो।

दोश्रो संविधानसभाको निर्वाचनमा श्रीवास्तव तत्कालीन तमलोपाबाट र सिंह तत्कालीन रामसपाबाट पर्सा क्षेत्र नम्बर १ मै प्रत्यक्षमा लडेका थिए। उक्त निर्वाचनमा श्रीवास्तव दोश्रो र सिंह तेश्रो स्थानमा रहदै पारजित भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell