PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

सिरहामा दलहरुको चुनावी अभियान तीव्र



रासस

सिरहामा दलहरुको चुनावी अभियान तीव्र

  • राजु विश्वकर्मा 
लहान :  तेस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सिरहाको गाउँबस्तीमा राजनीतिक दलको घरदैलो अभियानसँगै मतदातासँगको भेटघाट तीव्र भएको छ। 

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आफ्नो पक्षमा चुनावी वातावरण बनाउन नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम, राप्रपा, राजपालगायत दल अहिले चुनावी प्रचारप्रसारमा होमिएका छन्। 

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले सिरहाका लहान, गोलबजार, मिर्चैया र कर्जन्हा नगरपालिकासहित बरियारपट्टी, औरही गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारको नाम टुंग्याउन सकेको छैन।

जिल्ला सभापति रामचन्द्र यादवले उम्मेदवार तय गर्न बाँकी रहेको स्थानीय तहमा छिट्टै उम्मेदवारको नाम टुंग्याउने बताए। 

कांग्रेसले तय गरेका अन्य नगरपालिका र गाउँपालिकाका उम्मेदवारले घरदैलो र मतदातासँग भेटघाट व्यस्त छन् भने प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष तय गर्न बाँकी रहेको नगरपालिका र गाउँपालिकामा वडाध्यक्ष र सदस्य पदका उम्मेदवारले मुख्य पदका आकांक्षीसँगै घरदैलो र मतदातासँग भेटघाट गरिरहेका छन्। 

कांग्रेसले जिल्लाका मुख्य सहर तथा ग्रामीण भेगमा पार्टीको चुनाव चिह्नअंकित झण्डा र तुल राखेका छन्। एमालेको २ नं प्रदेश कमिटीले गत जेठ १४ गते जिल्लाका १७ वटै स्थानीय तहका उम्मेदवारको नाम टुंग्याएको थियो।

एमालेकातर्फबाट सिरहाका स्थानीय तहमा तय भएका उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्न अहिले घरदैलो अभियानसँगै प्रचारप्रसारमा व्यस्त भएका छन्। 

एमालेले आफ्नो समर्थक मतदाता रहेका गाउँका चोक, बजारमा पार्टी र चुनाव चिह्नअंकित झण्डा, ब्यानर छ्याप्छ्याप्ती बनाएको छ।

माओवादीले पनि जिल्लाका केही स्थानीय तहबाहेक अधिकांशमा आफ्नो उम्मेदवारको टुंगो लगाएर प्रचारप्रसारमा जुटेको छ। पार्टीकातर्फबाट उम्मेदवार भएकाहरुसँगै नेता कार्यकर्ता जिल्लाभरि नै घरदैलो र जनतासँग भेटघाटमा व्यस्त रहेको एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले बताए। 

माओवादी केन्द्रका उम्मेदवारले पनि जुलुससहित मतदाता भेटघाट, घरदैलो अभियानसंगै चुनावी सभालाई तीव्र बनाएका छन्।

धनगढीमाई नगरपालिकामा प्रमुख पदका उम्मेदवार हरिनारायण चौधरी, उपप्रमुख उम्मेदवार फूलकुमारी तामाङसहित माओवादी नेता कार्यकर्ताको घरदैलो अभियानमा नगरका सबै वडामा पुगिसकेको माओवादी केन्द्र चुनाव प्रचारप्रचार समितिले जनाएको छ। 

माओवादी केन्द्रले मिर्चैया, कर्जन्हासहित अन्य नगरपालिका र गाउँपालिकामा अन्तिम चरणको घरदैलो र मतदाता भेटघाट अभियान चलाइरहेको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक रामकुमार यादवले बताए। 

समाजवादी फोरमले पनि सबै स्थानीय तहका प्रमुख, उपप्रमुख पदमा उम्मेदवार तय गरेर प्रचारप्रसारलाई तीव्रता दिएको छ। पार्टीका तर्फबाट उम्मेदवार भएका व्यक्ति नारा जुलुससहित चुनावी तयारीमा जुटेको केन्द्रीय सदस्य सत्यनरायण यादवले जानकारी दिए। 

यस्तै, नेपाल लोकतान्त्रिक फोरमले पनि स्थानीय तहमा आफ्नो पकड बनाउन घरदैलो र चुनावी अभियानलाई तीव्र गतिमा अगाडि बढाएको छ।

पार्टीका पक्षमा वातावरण बनाउन पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी थिए। त्यसले पार्टीको पक्षमा ठूलो वातावरण बनेको पार्टीका नेता कार्यकर्ताले बताएका छन्। 

राप्रपा र राजपा पनि प्रचारमा तेस्रो चरणको निर्वाचनमा पार्टीलाई स्थापित गराउन र आफ्नो पक्षमा चुनावी वातावरण बनाउन गाउँगाउँ पुग्न थालेका छन्।

राप्रपाकातर्फबाट लहान नगरपालिकामा बहुदलीय व्यवस्था स्थापनापछिको स्थानीय निर्वाचनमा लहानमा प्रमुख जितेका लगनलाल चौधरीलाई यस पटक पनि नगरप्रमुख पदमा उठाउने तयारीका साथ प्रचारप्रसार भइरहेको छ। 

नवगठित राजपा पनि चुनाव प्रचार अभियानमा जुटेको छ। औपचारिक रुपमा उम्मेदवार तय गर्न नसकेको राजपाले पनि कार्यकर्तालाई चुनाव प्रचारमा खटाएको छ।

कुल आठ नगरपालिका र नौ गाउँपालिका तहका १६४ वटा वडा रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सिरहामा ४२६ वटा मतदान केन्द्र र २२१ मतदानस्थल छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell