
वर्षको अन्तिम ग्राण्ड्सलाम युएस ओपन टेनिसको पुरुषतर्फ क्वाटरफाइनल समिकरण पूरा भइसकेको छ।
अन्तिम आठमा पुग्नेमध्ये शीर्ष वरीयता प्राप्त राफेल नाडाल, रोजर फेडेरर र हुँवान मार्टिन डेल पोर्टोले मात्र यसअघि युएस ओपनको उपाधि जितेका छन्। यी तीनै खेलाडी एकै पुलमा छन्। यसअर्थ फाइनल पुग्ने अर्को खेलाडी अहिलेसम्म ग्राण्ड्सलाम नजितेको खेलाडी हुन पक्का छ।
शीर्ष वरीयताका स्पेनी खेलाडी नाडालले क्वाटरफाइनलमा रसियाका टिनएज खेलाडी आन्द्रे रुभलेभसँग प्रतिस्पर्धा गर्नेछन्। उनले पछिल्लो पटक सन् २०१३ मा युएस ओपन जितेका थिए।
रुभलेऐले नवौँ वरीयताका बेल्जियन खेलाडी डेभिड गोफिनलाई ३-० को सोझो सेटमा हराए। १९ वर्षिय रुभलेभले गोफिनसँगको खेल ७-५ ७-६ ६-३ ले जिते।
सन् २००१ मा एन्डी रोड्डिकपछि रुभलेभ युएस ओपनको क्वाटरफाइनलमा पुग्ने योङ्यस्ट खेलाडी समेत बनेका छन्।
त्यसअघि नाडालले युक्रेनका अलेक्जान्डर डोलगोपोलोभलाई ६-२, ६-४, ६-१ ले हराउँदै अन्तिम ८ मा स्थान बनाएका थिए।
यता अर्को क्वाटरफाइएनलमा फेडेररले अर्जेन्टाइन मार्टिन डेल पोर्टोसँग खेल्नेछन्। सन् २००९ को युएस च्याम्पियन डेल पोर्टोले दुई सेटले पछि परेको खेलमा छैटा वरीयताका डोमिनिक थएमलाई १-६, २-६, ६-१, ७-६, ६-४ ले पराजित गरे।
फेडेररले फिलिप कोलस्चेइवरलाई ६-४, ६-२, ७-५ ले पराजित गरे। फेडेररले २००८ यता युएस ओपन जित्न सकेका छैनन्।
त्यस्तै अन्य क्वाटरफाइनलमा साम क्वेरी र केभिन एण्डरनसन तथा पाब्लो कारेनो बुस्टो र डएगो स्वाजमानबीच खेल हुनेछ।