संसदमा तेस्रो दल भएर पनि सत्ता राजनीतिमा निर्णायक हैसियत जमाइरहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असोज २ मा सम्पन्न हुन गइरहेको तेस्रो चरणको अन्तिम चुनावी समरलाई आफ्नो पक्षमा पार्न सम्पूर्ण ताकत लगाइरहेका छन्। आफ्नो मधेश मिसन अन्तर्गत उनले पछिल्ला दिनमा आफ्नो बसाई नै मधेशमा सारे। पार्टीको सचिवालय बैठक वीरगञ्जमा गरे। उनकै शब्दमा प्रायः सबै जसो जिल्लाबाट हजारौं नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन्।
माओवादीलाई ब्यालेटको लडाई हार्ने छुट छैन भन्दै भदौं ९ मा सुर्खेतबाट पार्टीका चुनाव केन्द्रित कामलाई नेतृत्व दिँदै मधेश हिँडेका प्रचण्डले २ नम्बर प्रदेशका प्रायः ८ वटै जिल्लामा आफैँ पुगेर प्रचारको नेतृत्व गरे। प्रत्यक्ष जन निर्वाचित कार्यकारी शासकीय स्वरुपको पार्टी अडानको रटान पनि उनले यसै मेलोमा दोहोर्याए।
माओवादीलाई मधेश मसिहा बनाउने प्रचण्ड प्रयासले बाढी र डुबानबाट धनजनको अपुरणीय क्षतिसहित दुखैदुखैमा लतपतिएको तराई मधेशलाई कति तरंगित गर्न सक्यो वा सकेन भन्ने त असोज २ को मतदानपछि नै स्पष्ट हुनेछ।
तर, सिराहाबाट निर्वाचित सांसद तथा माओवादीका सुप्रिमो प्रचण्डले आफ्नो मधेश मोहको राजनीतिलाई असोज २ को चुनावी दौडाहाकै अभियान एकपटक मुखरित गरेका छन्।
प्रचण्डको मधेश साइनो
जनयुद्धको पुष्ठभूमिबाट आएको माओवादीका लागि तराई मधेश साइनो युद्धकालबाटै कस्सिएको भए पनि दोस्रो संविधानसभा चुनावसम्म आइपुग्दा उसको मधेश प्रभाव ओरालो यात्रामा देखियो।जतिबेला संविधान जारी गर्न तराई मधेश आनाकानी गर्दै थियो, त्यसबेला प्रचण्डले नै आफ्नो कित्ता परिवर्तन गर्दै मधेशी दलसँगको विपक्षी मोर्चा त्यागेर आफू कांग्रेस, एमालेको कित्तामा पुगे। दोस्रो संविधान सभा चुनावपछिको कांग्रेस एमालेको सत्ताकालमा मधेशी मोर्चाको विपक्षी कित्ताका भर लाग्दा नेता प्रचण्डले नै संविधान जारी गर्न मधेशीलाई एक हदसम्मको धोका दिएर मधेशी दललाई सडकमा छाडेका थिए।
संविधान जारीपछिको मधेश आक्रोशका बेला एमाले अध्यक्ष केपी ओलीलाई काँधमा बोकेर प्रधानमन्त्री बनाउँदै सत्तारुढ दलका नेताका हैसियतमा प्रचण्ड नै मधेशभन्दा परै थिए। मधेश आन्दोलन र नाकाबन्दीका बेला प्रचण्ड मधेशको साथ त के छेउ किनारामा पनि परेनन्।
तर, जब आफैले रचना गरेको ओली सत्ता ढालेर कांग्रेस समर्थनमा आफै सरकारमा जाने निष्कर्षमा प्रचण्ड पुगेथे, तब उनले खुल्लामञ्चमा अनशन बसेका मधेशी दलहरूका नेता भेट्दै आफ्नो मधेशसँग लभ परेको दाबी गरेका थिए।
त्यसयता आफूलाई मधेशमैत्री व्यवहार र शैलीमा ढाल्न कोसिस गर्दै आएका प्रचण्डले मधेशी दलहरूको माग अनुसार ढिलै भए पनि संविधान संशोधनको मागलाई भदौं ५ मा संसदबाट विफल पारिदिए। उनको मधेशप्रेम असोज २ को चुनावको मुखमा भने निकै चमकदमकपूर्ण देखियो।
पार्टीले शून्य संगठन, पहिलो र दोस्रो चरणको स्थानीय चुनावमा पाएको सामान्य जीत आदिका कारण २ नम्बर प्रदेशबाट अपेक्षित जीत हासिल गर्न मुस्किल हुने अड्कलबाजीहरू भैरहँदा प्रचण्डले साता बढी मधेशमा बिताएका छन्।
प्रचण्डका लागि मधेश झर्न आन्दोलनका विपक्षमा उभिएको आरोप थिएन, तर पहाडमा जस्तो उनको दलका पक्षमा जनमत पनि थिएन। आन्दोलनको राप, एकताको शक्ति र संविधान संशोधन विफलताको तातो मुद्दाका कारण मधेशी दलहरू सामु माओवादीको असोज २ को चुनाव कठिन जनपरीक्षा हो। तर, त्यस्तै प्रतिकूलताहरूका बीच पार्टीको पक्षमा जनमत बटुल्न गरिएका प्रचण्ड कदमले निकै तरंग ल्याएको छ।
उनले मधेशी दलका धेरै नेता कार्यकर्ता आफ्नो दलमा भित्र्याएका छन्। आफ्नो पार्टी नै असली मधेश मसिहा भएको दाबी दोहोर्याएका छन्। मधेश मसिहा बन्न प्रचण्डले गरेका राजनीतिक रस्साकस्सी पनि निकै रोचक छन्।
मधेशमा प्रचण्डका एक साता
- भदौ १९ : सिमरामा आमसभालाई सम्बोधन गरेका अध्यक्ष प्रचण्डद्वारा तीन राजपा नेतालाई स्वागत। राजपाका तीन केन्द्रीय सदस्यसहितका नेताहरूलाई माओवादी केन्द्रमा भित्र्याए। सोमबार दिउँसो पूर्वसभासद एवं राजपाका केन्द्रीय सदस्य शिवपुजन यादवको नेतृत्वमा नेताहरू माओवादी केन्द्रमा प्रवेश। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नेता यादवसहित राजपाका केन्द्रीय सदस्यहरू रामबाबू दास, रामएकवाल राय, राजपा जिल्ला उपाध्यक्ष महेन्द्र प्रसाद यादव, क्षेत्रीय सभापतिहरू अनिलकुमार सिंह, अनितादेवी यादव, विश्वमोहन सिंह लगायतका दुई दर्जन नेताहरू माओवादी केन्द्रमा प्रवेश।
- भदौ १८ : सिमरामा नै राजपाका तीन जना केन्द्रीय सदस्यसहित ५००० जना नेता—कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत। राजपाका केन्द्रीय सदस्य चेतनारायण महतो, राजकुमार साह र सिताराम महतोको नेतृत्वमा ५००० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश। पर्साको बीरगञ्ज महानगरमा आयोजित कार्यक्रममा ३०० जना स्थानीय कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत।
- भदौ १७ : वीरगञ्जमा केन्द्रीय सचिवालयको वैठक आयोजना। संभवतः पहिलोपट्क सचिवालय वैठक मधेश क्षेत्रमा आयोजना। बैठकबाट आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर निर्वाचन अभियानलाई तिब्र पार्ने निर्णय। २ नम्बर प्रदेशमा माओवादीप्रतिको आकर्षण बढ्दै गएको निष्कर्षसहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तीब्र पार्ने निर्णय। आवश्यकता र औचित्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरूसँग तालमेलको नीति लिने नीति। मूख्यतः मधेश केन्द्रित दललाई प्राथमिकता दिने निर्णय।
- भदौ १५ : मधेश अभियानको चौथो दिन रौतहट जिल्लामा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा पसेका ३६०० जना नेता कार्यकतालाई स्वागत। बिहीवार बिहान रौतहटको गौरमा गौर उद्योग वाणिज्य संघका सचिव मुनिल कुमार ठाकुरको नेतृत्वमा विभिन्न क्षेत्रका २०० जना माओवादी केन्द्रमा प्रवेश। राजपुरमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १७०० जना लाई पनि स्वागत।
- दिउँसो गरुडामा राजपाका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष शेरनुरुल होदा, जिल्ला उपाध्यक्ष मायादेवी जैसवाल, एमालेका संघीय मामिला सदस्य सुधिर यादव, एमाले जिल्ला कमिटी सदस्य देवकी नेपाल, नेपाल परिवार दलका केन्द्रीय सदस्य नथुनी चौधरी, राजपा महिला जिल्ला अध्यक्ष मीना जैसवाल लगायतका नेताहरूको नेतृत्वमा १२०० जना नेता—कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश।
- कनकपुर नगरपालिकामा आयोजित चुनावी सभामा सम्बोधनका साथ ५०० जना स्थानीय नेता—कार्यकतालाई माओवादी केन्द्रमा स्वागत। बिहीवारै निर्वाचन आचार संहिताको बन्धनको खिल्ली उडाउँदै अपरान्ह अध्यक्ष प्रचण्डद्वारा रौतहटकै गरुडामा १००० बाढी पीडित परिवारलाई ग्यास सिलिण्डर, चुल्हो, खाद्यान्न लगायतका राहत सामग्री वितरण।
- भदौ १४ : विजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेशी लोकतान्त्रिक फोरमका केन्द्रीय सहअध्यक्ष रामेश्वर राय यादवसहितका ६५०० नेता—कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत। बुधवार सर्लाहीको चक्रघट्टीमा आयोजित विशाल पार्टी प्रवेश कार्यक्रममा नेता रायसहित विभिन्न पार्टीका दर्जनौं केन्द्रीय सदस्य, सयौं जिल्ला स्तरीय नेतासहित ६५०० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश।
- भदौ १३ : सद्भावना पार्टीका संस्थापक महामन्त्री अनिस अन्सारीसहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा पसेका हजारौं नेता—कार्यकर्तालाई स्वागत। मंगलवार जनकपुरमा आयोजित एक बृहत कार्यक्रमका बीच नवआगन्तुक नेता—कार्यकर्तालाई अध्यक्ष प्रचण्डद्वारा टीका मालाको स्वागत।
- भदौ १० : माओवादी केन्द्र प्रदेश नं. ७ को पार्टी प्रशिक्षण कार्यक्रममा प्रशिक्षण। आफूलाई समाजवादी क्रान्ति देखेर मर्न मन भएको टिप्पणी।
मधेशबारे पछिल्ला प्रचण्ड वाणी
‘अहिले देशमा दुई खाले अतिवादीहरू छन्। एउटा अतिवादले पहाडलाई मात्र देख्छ। अर्को अतिवादले मधेशलाई मात्र देख्छ। हामी यी दुवै अतिवादको विपक्षमा छौं, राष्ट्रिय एकताको पक्षमा छौं।’‘म प्रधानमन्त्री बन्ने बेला देशको विदेश नीति लड्खडाएको थियो, राष्ट्रिय एकता जोखिममा थियो। मधेश र पहाड एक आपसमा भिडेर देश नै भिडन्तमा जाने त होइन? भन्ने परिस्थिति थियो। तर, मैले दश महिनामा जुन काम गरेँ, त्यसबाट एमालेका साथीहरू पनि मलाई प्रधानमन्त्री नछोड भन्ने ठाउँमा आइपुग्नुभयो। मलाई लम्पसारवादी भन्ने साथीहरू नै ठूलठूला षड्यन्त्र चिरेर स्थानीय तह र स्थानीय चुनाव गरेपछि राजनेता तपाईँ नै हो भन्न थाल्नुभयो। यो सामान्य मेहेनतले भएको होइन।’
‘एकथरि मान्छेहरू राष्ट्रवादका नाममा मधेशी जनतालाई भारतीयको आरोप लगाइरहेका छन्। तल्लो स्तरमा गिरेर स्वाभिमानमाथि प्रहार गरिरहेका छन्। अर्कोथरि मान्छेहरू पहाडीयाप्रति घृणाको नजरले हेर्छन्। नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो। एकले अर्काको सम्मान र अधिकार दिएर मात्र देश बलियो हुन्छ। त्यसैले पहाडी र मधेशी अतिवाद र नश्लवादको विरोध गरौं।’
‘माओवादी मात्रै सच्चा राष्ट्रवादको पक्षमा छ, हामी पहाडसँग मधेश र मधेशसँग पहाड भिँडाउने अतिवादको विरुद्धमा छौं’।
‘काठमाडौं बन्न मधेशी जनताको रगत र पसिना बगेको छ। मधेश बन्न पहाडको श्रम र पसिना छ। यो यथार्थलाई हामीले भुल्नु हुँदैन। सबैलाई बराबरीको अधिकार दिएर मात्र देश बलियो हुन्छ।
‘नेपाल हिमाल, पहाड र मधेश मिलेर बनेको देश हो। हाम्रो राष्ट्रियता हाम्रा लागि धेरै मूल्यवान् छ। हामी देशलाई जोड्न चाहन्छौं। राष्ट्रिय एकता, जनताको मुक्ति एवं स्वाभिमान र देशको आर्थिक विकास नै हाम्रो मिसन हो। यही मिसनका लागि म तपाईँहरूको बीचमा आएको छु। पहाडका विरुद्ध मधेश र मधेशका विरुद्ध पहाडलाई उचाल्ने र जनताको बीचमा भिडन्त गराएर राजनीतिक स्वार्थ पूर्ति गर्ने अतिवादी र नश्लवादीहरूलाई चिन्नुस् र माओवादी केन्द्रले उठाएको पहिचान र राष्ट्रिय एकताको पक्षमा उभिनुस्।’
‘पहाडमा पनि सामन्त छन्, मधेशमा पनि छन्। पहाडका सामन्तले पहाडलाई मात्रै देश ठान्छन। खोक्रो राष्ट्रियताको कुरा गर्छन् र मधेशी जनताको अपमान गर्छन्। मधेशमा पनि सामन्त छन्। उनीहरू नेपालको एकता चाहँदैनन्। पहाडीलाई घृणा गर्छन्। यी दुवै अतिवाद हुन, नश्लवाद हुन्। अब हिमाल, पहाड र तराई—मधेशका गरीब र उत्पीडितहरू एक होऔं, देशको हित र जनताको अधिकारको पक्षमा लडौं, पहाड र मधेशका सामन्तहरूलाई पराजित गरौं।’
‘काठमाडौं विकसित हुनुमा मधेशको योगदान छ, मधेशको विकास र समृद्धिका लागि पहाड आवश्यक छ। पहाडविरोधी र मधेशविरोधी भावनाले देशको हित गर्दैन, जनताको हित गर्दैन।’
‘जनयुद्धको बेला मधेशमा माओवादीको पक्षमा ठूलो लहर थियो। बीचमा माओवादीमाथि ठूलो षड्यन्त्र रचियो, मधेशमा माओवादीलाई संघीयता विरोधी देखाउन निकै कोसिस गरियो। अहिले ११ वर्षपछि माओवादी केन्द्रको पक्षमा जनलहर आएको छ।’
‘एकाथरि मान्छेहरू माओवादीले बिगार्न र भत्काउन मात्र सिपालु छ भन्ने ठान्थे। तर, हामीले १० महिनामा त्यो भ्रमलाई पूरै गलत साबित गर्यौं। हामीले देशलाई एकतावद्द गर्यौं, हिमाल, पहाड र मधेशलाई मिलायौं। छिमेकीसँग सन्तुलित सम्बन्ध बनायौं, संविधान कार्यान्वयन गर्यौं, स्थानीय तह बनायौं, चुनाव गर्यौं। आर्थिक समृद्धि गुणात्मक स्थानमा पुग्यो। मूल्यवृद्धि रोकियो। लोडसेडिङ हट्यो। विकास आयोजनाहरूले गति लिए। यो सामान्य कुरा हुँदै होइन।’
‘११ वर्षपछि मधेशमा जागरण आएको छ। ११ वर्षअघि गौर हत्याकाण्ड घटाएर मधेशमा माओवादीलाई संघीयता विरोधी भ्रामक प्रचार गरे। अहिले परिस्थिति बदलिएको छ। मधेशको मित्र, देशलाई एकतावद्द गर्ने पार्टी माओवादी नै हो भन्ने स्थापित हुँदैछ। यो हाम्रा लागि खुशीको कुरा हो। जतिसुकै षड्यन्त्र गरे पनि एकदिन सत्य स्थापित हुने रहेछ, त्यो प्रमाणित हुँदैछ।’
‘हेर्दै जानुहोला, माओवादीको पक्षमा मधेशमा ठूलो जनलहर आउँछ। संघीयता मधेशी दलको मुद्धा हुँदै होइन, हामीले मधेशी, थारु, मुस्लिम, मगर मुक्ति मोर्चाको अभ्यास गरेर युद्धमा जाँदा तिनीहरू कहाँ थिए? बीचमा हाम्रा मुद्धाहरूको अपहरण गर्ने कोसिस गरे, अब त्यो सम्भव छैन।’
‘देशका अहिलेका सबै एजेण्डा माओवादीकै हुन्। कांग्रेस एमालेलाई यो सबै मन परेको छैन। महिला, दलित, जनजाति नेता भएको कांग्रेस एमालेलाई मन परेको छैन। उनीहरू महिला, दलित, जनजाति, मधेशी, मुस्लिमलाई मान्छे नै ठान्दैनन्। हामीले एकात्मक सत्ता ढलायौं, कांग्रेस एमालेले दोस्रो दर्जाका नागरिक ठानेका जनतालाई नेता बनायौं। मन्त्री र सांसद बनायौं। यो उनीहरूलाई मन पर्ने कुरै होइन, त्यसैले उनीहरू पहिचान र अधिकारको विरोधमा छन्।’
‘हिमाल, पहाड, मधेशलाई जोड्ने, राष्ट्रिय एकता बलियो बनाउने माओवादी कसरी लम्पसारवादी? हामीले देशको हित विपरित कुनै निर्णय गरेका छौं? हामीले कुनै राष्ट्रघाती सन्धि सम्झौता गरेका छौं? सबै जाति क्षेत्रलाई बराबरीको अधिकार दिँदा हामी कसरी लम्पसारवादी?’
‘संघीयता र पहिचानको मुद्दा क्रान्तिकारीहरूको हातबाट फुत्किएर बुर्जुवाहरूको हातमा गयो भने त्यसलाई गलत ढंगले प्रयोग गरिन्छ। अहिले एमाले र मधेशी नेताहरू त्यही गरिरहेका छन्। अहिले उनीहरू जाति जाति लडाएर नश्लवादमा लैजाने र अन्तिममा फाँसीवादको अभ्यास गर्ने तयारीमा छन्।’
‘मदन भण्डारी बाँचेको भए के हुन्थ्यो भन्न सकिन्नथ्यो। तर, अब त्यो सोच्नु पनि काल्पनिक हुन्छ। २००७ सालको क्रान्तिको नेतृत्व कांग्रेसले गर्यो, २०४६ सालको आन्दोलन पनि कांग्रेसले नै गर्यो, बामपन्थी शक्तिहरूको सहयोगी भूमिका भयो। जनयुद्ध र गणतन्त्रको नेतृत्व हामीले गर्यौं। देशमा ठूलो राजनीतिक परिवर्तन माओवादीले गर्यो। तर, एमालेले के गर्यो? गणतन्त्रको आन्दोलनमा उनीहरू यसका विरोधी थिए। संघीयता पनि उनीहरूले रुचीले मानेका होइनन्। धर्मनिरपेक्षता, समावेशी, समानुपातिक त झन् मन नै पराउँदैनन्।’