PahiloPost

Sep 20, 2025 | ४ असोज २०८२

बङ्गलादेशमा म्यानमारका शरणार्थी एक लाख नाघ्ने अनुमान



रासस

बङ्गलादेशमा म्यानमारका शरणार्थी एक लाख नाघ्ने अनुमान
फोटो श्रोतः ndtv.com

बङ्गलादेशः म्यानमारमा केही समययता भड्किएको हिंसाको कारण बङ्गलादेश पुगेका रोहिङ्गा मुस्लिम शरणार्थीको सङ्ख्या एक लाखभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। 

म्यानमारमा गत अगस्त २५ बाट सुरु भएको हिंसाका कारण शरणार्थीको रुपमा त्यस समुदायका मानिस बङ्गलादेश आइपुगेका संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ। 

म्यानमारको अल्पसङ्ख्यक हजारौँ रोहिङ्गा मुस्लिम पछिल्लो समयमा म्यानमारको राखिन राज्यमा सुरु भएको द्वन्द्वको कारण बङ्गलादेश छिर्ने सीमामा बसेका छन्। 

सोमबार म्यानमारको पश्चिमी राज्य राखिन र बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने स्थानमा करिब २० हजार रोहिङ्गा मुस्लिम समूदायका व्यक्ति बङ्गलादेश छिर्नका लागि पर्खेर बसेका र ८७ हजार बङ्गलादेशभित्र गएका संयुक्त राष्ट्रसंघद्धारा जारी प्रतिवेदनमा जनाइएको छ। 

संयुक्त राष्ट्रसंघले यो जानकारी दिएको भए पनि बङ्गलादेशी अधिकारीहरुका अनुसार भने गत अगस्त २५ बाट सोमबारसम्म बङ्गलादेश प्रवेश गर्ने म्यानमारका शरणार्थीको सङ्ख्या करिब ९२ हजार पुगेको थियो। 

मङ्गलबार यो सङ्ख्या एक लाखभन्दा बढी हुने अनुमान गरिएको जनाइएको छ। करिब दश दिन यतादेखि सुरु भएको हिंसाका कारण ढाकाले आफ्नो सीमा क्षेत्रमा नियन्त्रण गर्न छोडेको छ।

हालैका दिनमा बङ्गलादेशी सीमा सुरक्षा गार्डहरु पनि म्यानमारका शरणार्थीहरुलाई त्यहाँबाट भाग्न र बङ्गलादेश छिर्न सघाइरहेका छन्। 

पाँच वर्षयता म्यानमारको राखिन राज्यमा जाती र धर्मका कारण हिंसा भड्किंदै गएको छ। 

राष्ट्रसंघकाअनुसार म्यानमारको रोहिङ्गा राज्यमा सुरु भएको हिंसापछि बङ्गलादेश भागेर जाने क्रममा नाफ सीमा नदी पार गर्दा बगाएर सयौँको मृत्यु भइसकेको छ। 

म्यानमारबाट भागेर आएका व्यक्तिले शरणार्थी शिविर भरिएको हुनाले स्थानीयलेसमेत शरणार्थीलाई सहयोग गर्ने गरेका संयुक्त राष्ट्रसंघले जनाएको छ। 

म्यानमारको राखिन राज्यमा सन् २०१२ बाट सुरु भएको धार्मिक हिंसाका कारण सयौं रोहिङ्गा मुस्लिमहरुको मृत्यु भएको छ भने लाखौंको सङ्ख्यामा विस्थापित भएर स्वदेश तथा विदेशमा शरणार्थीका रुपमा रहेका बताइन्छ। रासस/एएफपी 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell