टोकियोः जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको छ। उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो।
जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको विमानमा उडेको केही क्षणमै चरा ठोक्किएको र विमानको इन्जिनमा नै असर परेको अनुमान गरिएको छ।
हानेदा विमानस्थलबाटै बिहान उडेको बोइङ ७७७ विमानमा चरा ठोक्किएपछि इन्जिनमा असर परेको थियो। विमान विमानस्थलमा आकस्मिक अवतरण गरेको र त्यस क्रममा एउटा इन्जिनबाट धुवाँ पनि निस्किेको बताइएको छ।
एउटा इन्जिनको प्रयोगगरी विमान आकस्मिक रुपमा विमानस्थल पुगेको विमानचालक दलका सदस्यले जानकारी दिएका छन्।
विमानले २५० यात्रु बोकेको थियो। जापानको सरकारी टेलिभिजन एनएचकेले दिएको जानकारीअनुसार विमानमा रहेका सबै जना सकुशल रहेका छन्।
अहिले नै के कति कारणले इन्जिन फेल भयो भन्ने बारेमा त केही बताइएको छैन। विमानमा चरा ठोक्किएको कारण इन्जिनमा असर परेको हुनसक्ने अनुमान गरिएको प्रारम्भिक समाचारमा जनाइएको छ। रासस/सिन्ह्वा