
काठमाडौं : भारत र बंगलादेशले साबा यु–१६ पुरुष बास्केटबल प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन्। दुवै टोलीले आ–आफ्नो प्रतिद्वन्द्वीमाथि सहज जित निकाले।
प्रतियोगिताको औपचारिक उद्घाटनको अघिल्लो दिन त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा भारतले माल्दिभ्सलाई १५२–१७ को विशाल अन्तरले पराजित गर्यो।
बलियो मानिएको भारतको जितमा प्रतियोगिताकै अग्ला खेलाडी (६ फिट १० इन्च) प्रिन्सपाल सिंहले २६ अंक योगदान गरे।
भारतले चार क्वाटरमा क्रमशः २६, ४१, ४९ र ३६ अंक जोड्दा माल्दिभ्स सबै क्वाटरमा दोहोरो अंक बटुल्न असफल भयो। माल्दिभ्स पहिलोमा ७, दोश्रो र तेश्रोमा २ तथा चौथोमा ६ अंकमा सीमित भयो।
त्यसअघि बंगलादेशले भुटानलाई ११७–४३ को फराकिलो अन्तरले हराएको थियो। बंगलादेशका तुतुलकुमार विश्वासले सर्वाधिक ३१ अंक जोडे।
पहिलो क्वाटरमा ४२–११ ले अगाडि बढेको बंगलादेशले अग्रतालाई अन्तिमसम्म कायम राख्यो। बंगलादेशले दोश्रोमा २४–७, तेश्रोमा ३३–११ र चौथोमा १८–१४ को अग्रता बनाएको थियो।
दक्षिण एसियाली क्षेत्रको यो प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र माल्दिभ्स गरी ५ राष्ट्र सहभागी छन्। सिंगल राउन्ड रोविनका आधारमा हुने प्रतियोगितामा पहिलो हुने टोली मलेसियामा हुने पाँचौं एसियाली यु–१६ पुरुष बास्केटबलका लागि छनोट हुनेछ।
प्रतियोगिताअन्तर्गत बुधबार दुई खेल हुनेछ। पहिलो खेलमा बंगलादेशले भारतको सामना गर्नेछ। दोश्रो खेलमा भुटानसंगको प्रतिस्पर्धाबाट नेपालले यात्रा थाल्ने छ।
प्रतियोगिताको ओपचारिक उद्घाटन भने बुधबार हुनेछ।