PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

विद्यासुन्दरका १०० दिन : यी हुन् उनका ५ चर्चित काम



रमेश वाग्ले

विद्यासुन्दरका १०० दिन : यी हुन् उनका ५ चर्चित काम

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको कार्याकालको हनिमुन यात्रा पूरा भएको छ। उनको हनिमुन यस अर्थमा पनि महत्वपूर्ण छ कि उनले सय दिनका लागि बाँचाहरु गरेका थिए चुनावमा।

भोटका लागि जे पनि बोले हुन्छ भन्ने संस्कृतिलाई कायम राख्‍न उनी सफल रहे। स्मार्ट सिटीदेखि धुलो रहित काठमाडौंको परिकल्पनाहरु धुँवामै उडिरहे। सय दिन रमितामात्रै रह्यो राजधानीवासीका लागि। 

आखिर देशको राजधानीमात्रै होइन मुलुककै सबैभन्दा ठूलो महानगरको नगरपिता चुनिएपछि मेयर विद्यासुन्दरले केही गरेनन् त? सत्य यही हो उनी काठमाडौं महानगरको गल्लीका कुनै मूर्ति थिएनन्। उनले जिवित रहेको संदेश दिन केही कामहरु गरे। उनले गरेका केही महत्वपूर्ण ५ कामहरु यस्ता छन् जसले उनलाई चर्चामा राख्यो : 

१ : मोबाइल कान्ड

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दरको पहिलो बोर्ड बैठकबाट आफूसहित उपमेयर र वडाध्यक्षहरुलाई मोबाइल फोन खरिद गर्ने निर्णय गरे। वडाध्यक्षहरुलाई ३० हजार बराबर मूल्यको मोबाइल फोनसहित सीम किन्ने निर्णय गरेका मेयर शाक्यले आफू र उपमेयरलाई भने मूल्यको हद नतोकी मोबाइल फोन किन्ने निर्णय गरेका थिए। 

समाचार सार्वजनिक भएपछि सामाजिक संचालमा आएको चर्को आलोचानापछि बोर्ड बैठकको निर्णय विद्यासुन्दरले व्यक्तिगत रुपमा फिर्ता लिएको बताए। महानगर बोर्डले गरेका निर्णय पुनः बोर्ड बैठक वा नगरपरिषद बैठकबाट मात्र फिर्ता हुन सक्छ। तर मेयर विद्यासुन्दरले त्यो निर्णय व्यक्तिगत निर्णयमा फिर्ता लिए र वडाध्यक्षहरुलाई सीममात्र किनेर पठाए। तर पछि मोबाइल किन्न रकम निकासा गरेको वडा अध्यक्षहरुले नै खुलासा गरिदिए।

२ : प्रहरी अधिकृतसामु निरिह 

महानगरपालिकाको निर्वाचन हुनुभन्दा केही अघिसम्म काठमाडौं महानगरपालिकामा निर्वाचन लड्नकै लागि बहालवाला मन्त्री गगन थापा र नविन्द्रराज जोशीले राजीनामा दिनेसम्मका चर्चा चलेको थियो। एमालेको सचिव तथा चर्चित युवा नेता योगेश भट्टराई समेत मैदानमा उत्रिने चर्चाले चुनावी माहोलमा  गर्मी छरेको थियो। 

त्यही चर्चाबाट पनि के स्पष्ट हुन्छ भने काठमाडौं महानगरपालिकाको मेयरको आकर्षण एउटा मन्त्री पदको भन्दा पनि ज्यादा छ। तर मेयर निर्वाचित भएको तीन महिना नहुँदै मेयर विद्यासुन्दर नेपाल प्रहरीका डिआइजी सर्वेन्द्र खनालको निमन्त्रणमा महानगरी ट्राफिक महाशाखा गए र उनै सर्वेन्द्रको निर्देशन सुने। 

'जन प्रतिनिधिले गर्ने काम जनप्रतिनिधिले गर्नुहोस्। सक्नुहुन्न भने हामीलाई जिम्मा दिनुहोस,' डिआइजी खनालले भनेका थिए, 'बाटो यही अवस्थामा राख्नु महानगरका लागि अशोभनीय भयो। दुर्घटनाको पनि बढेर गयो। ट्राफिक जाम पनि नियन्त्रण हुन सकेन।'

३ : खाडल पुर्न सक्दिन

गत साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडकमै एक बालिकाको ज्यान गएको र अर्की बालिका सडककै खाल्डोबाट ढलमा पुगेर बाल-बाल बचेको घटनापछि १५ दिनभित्र सडकका खाल्डा खुल्डी पुर्न निर्देनशन दिए। सडक विभागदेखि प्रधानमन्त्री कार्यलयका कर्मचारीसम्मले प्रधानमन्त्रीको निर्देशन पछि कामको दैनिक प्रगति विवरण सार्वजनिक गर्न थाले। 

त्यही १५ दिने अवधिमा मेयर विद्यासुन्दरले प्रधानमन्त्रीलाई सार्वजनिक रुपमै ठाडो चुनौति दिए। 

'सडकका खाल्डा खुल्डी अहिले पुर्ने नै हैन। वर्षा याममा खाल्डा खुल्डी पुर्नु भनेको बजेट पनि बगाउनु हो,' विद्यासुन्दरले प्रधानमन्त्रीलाई चुनौती गरे, 'बाटो बनाउने भनेको वर्षा सकिएपछि हो। त्यसैले अहिले महानगरले खाल्डा खुल्डी पुर्ने बारे कुनै योजना बनाएको छैन।'

४ : केपी ओलीको स्वागतमा 

काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्न एमाले सचिव योगेश भट्टराईदेखि महानगरका चर्चित पूर्वमेयर केशव स्थापितसम्म एमालेका तर्फबाट महानगरका मेयर उम्मेद्वारका आकांक्षी थिए। त्यस्तो अवस्थामा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व वडाध्यक्ष विद्या सुन्दरलाई मेयरको उम्मेदवार बनाएका थिए। त्यही हिसाबले ओलीले उनलाई उम्मेदवार बनाएर ठुलै गुन पनि लागाए।
 
तर निर्वाचित भएपछि विद्यासुन्दरले महानगरको हैसियतको प्रयोग गर्नेभन्दा पनि त्यही गुन तिर्ने काम गरिरहे। आफ्नो सपथमा जेठ १७ गते केपी ओलीलाई प्रमुख अतिथि बनाएर उनले थालेको गुन भुक्तानी केपी ओली उपचारका लागि विदेश गएर फर्कदा स्वागतमा विमानस्थल पुग्ने सम्म चलिरह्यो। 

महानगरको मेयर भएकाले औपचारिक पदमा रहेका राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई स्वागत गर्नु उनको उत्तरदायित्व हुन सक्छ। तर मेयर विद्यासुन्दले केपी ओलीलाई विमानस्थलमा स्वागत गरेर स्थानीय जनप्रतिनिधिभन्दा कार्यकर्तामै सीमित गरे आफूलाई। 

५ : बोर्डले निर्धारण गरेको खारेज भएपछि मौखिक कर दर 

महानगरको मेयर भएपछि मेयर विद्यासुन्दरले महानगरभित्र करका दर बढाउने निर्णय गरे। कर निर्धारण गर्न पाउने महानगरको विशेष अधिकार हो। त्यसमा विरोध भए पनि कार्यान्वय गर्ने काम महानगरको हुन्थ्यो। तर अर्थ मन्त्रालयले हस्ताक्षेप गरेर महानगरले निर्धारण गरेको कर कार्यान्वयनमा रोक लगाएपछि पुरानो दरमा कर लागु हुनुपर्थ्यो या त नयाँ निर्णय बोर्डबाट गर्नुपर्थ्यो। तर, मेयर विद्यासुन्दरले यी दुवै काम गरेनन्। उनले आफैले कर निर्धारण गरे र त्यही दरमा वडाहरुलाई कर उठाउन निर्देशन सर्कुलर गरे। उनको यो निर्णय पनि विधिको शासनका लागि चुनौती नै हो।

वडाध्यक्ष आन्दोलन

मेयर विद्यासुन्दरले महानगरको कार्यकारी परिवर्तन भएसँगै वडाध्यक्षहरुसँग कुनै परामर्श नै नगरी कर्मचारी सरुवा गरे। वडा अध्यक्षहरुले बल्ल बल्ल कामको मेलो समात्न लाग्दा कर्मचारी सरुवा गरेको भन्दै विरोध जनाए। मेयर विद्यासुन्दरले त्यो निर्णयका विषयमा कुनै विरोध आवश्यक नभएको भन्दै मौन छन्। तर वडाध्यक्षबाट नैं उनलाई असहयोग भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell