PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

बैठक बस्न भैरहवा पुगेको लेखा समितिलाई मन्त्रीले टेरेनन्, स्पष्टीकरण सोध्ने निर्णय



चन्द्रकान्त खनाल

बैठक बस्न भैरहवा पुगेको लेखा समितिलाई मन्त्रीले टेरेनन्, स्पष्टीकरण सोध्ने निर्णय

रुपन्देहीः सिंहदरबार बाहिर पहिलो पटक रुपन्देहीको भैरहवामा बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठक बिना निर्णय काठमाण्डौं फर्किएको छ। सम्बन्धित मन्त्रालयका मन्त्री तथा सचिव र योजना प्रमुखको अनुपस्थितिमा बैठक निश्कर्ष बिहीन भएको समिति सभापति डोरप्रसाद उपाध्यायले बताए ।

सुस्त गतिमा रहेका रुपन्देहीमा सञ्चालित राष्ट्रिय गौरवका आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र भैरहवा–बुटवल व्यापारिक मार्गको स्थलगत अनुगमन र सार्वजनिक सुनुवाइका लागि समिति रुपन्देही पुगेको थियो। सुनुवाइपछि विभागीय मन्त्रालयका मन्त्रीले जवाफ दिने कार्यसूची समितिले तय गरेको थियो।

बैठकमा पर्यटन मन्त्री जितेन्द्र नारायण देव, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री बीरबहादुर बलायर तथा मन्त्रालयका सचिव र योजना प्रमुखलाई बोलाइएको थियो।

समितिले मन्त्री र सचिवले संसदीय समितिको अपहेलना गरेको भन्दै खेद प्रस्ताव पारित गर्नुका साथै प्रधानमन्त्री कार्यालयमार्फत स्पष्टीकरण सोध्ने निर्णय पनि गरेको उपाध्यायले बताए।

कार्यक्रममा विमानस्थल निर्माण आयोजनाका निर्देशक ओम शर्मा पनि उपस्थित भएनन्।

बैठकले कुनै निर्णय लिन नसके पनि आयोजना समयमै सम्पन्न गर्न नीतिगत सुधार गर्नु पर्ने आवश्यकता समितिले औल्याएको छ।

समिति सदस्य एवं कांग्रेस सांसद् रामहरि खतिवडाले गौतमबुद्ध बिमानस्थल काम गर्नेभन्दा पनि कारोबार गर्ने थलो भएकाले समस्या भएको बताए। खतिवडाले विमानस्थल निर्माणमा ठेकेदार छनोटदेखि आयोजना निर्देशक छनोटसम्म कमजोरी भएको बताए ।

एमाले सांसद् गोकर्ण बिष्टले आयोजना संकटमा परेका कारण छुट्टै समिति बनाइ अध्ययन गरी समस्या समाधान गर्नु पर्ने बताए।

राजपाका सांसद् सर्वेन्द्रनाथ शुक्लाले जिम्मेवार व्यक्तिहरु उपस्थित नहुनुले सरकारले आयोजनालाई राष्ट्रिय गौरवका आयोजना नठानेको महसुस गराएको टिप्पणी गरे।

समिति सभापति र सदस्यहरुले गत आइतबार बिहान भैरहवा आएर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, वेलहिया–भैरहवा–बुटवल ६ लेन व्यापारिक मार्गसहित यस क्षेत्रमा सञ्चालित अन्य आयोजनाहरुको स्थलगत निरीक्षण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell