
काठमाडौं : अस्तव्यस्त काठमाडौं शहरलाई ‘एक शून्य एक’ दिनमै व्यवस्थित गर्न नयाँ प्रविधियुक्त यातायात पद्धति विस्तारदेखि महानगरमा केबुलकार, मोनोरेल तथा अत्याधुनिक बस सेवा, इलेक्ट्रिकल तथा स्मार्ट गाडीहरू सञ्चालनमा ल्याउने एजेन्डा बोकेका काठमाडौंका महानगरका मेयर विद्यासुन्दर शाक्यका चुनावी प्रतिवद्धता व्यवहारमा फ्लप भए।
महागनरलाई ‘स्मार्ट सिटी’का रूपमा विकास र महानगरको झल्को दिने गरी ‘पब्लिक ट्रान्सपोर्टेसन’ सेवा कम्तीमा दिनको २० घण्टा सञ्चालन गर्ने, त्यसैगरी महानगरभित्रका सबै टोल–टोलमा पुग्न कुनै पनि स्थानबाट ५ मिनेटभन्दा बढी हिँड्नु नपर्ने गरी ‘पब्लिक ट्रान्सपोर्ट’को तथा साइकल लेनको निर्माण जस्ता प्रतिवद्धता पूरा गर्न शाक्यले नै मागेको ‘एक शून्य एक’ दिन पूरा हुँदा योजना त टाढाको विषय त्यसमा छलफलसमेत भएन।
जनताद्वारा निर्वाचित भएसँगै मेयर विद्यासुन्दर शाक्य गाडी देखि मोबाइल खरिद सम्मका विवादमा फसे र निर्वाचनका बेला जनतासामु गरेको प्रतिवद्धता मध्ये थोरै पनि काम गर्न सकेनन् ।
किन फेल भयो ‘एक शून्य एक’ दिनका प्रतिवद्धता?
पहिलो चरणको स्थानीय निर्वाचनमा नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेद्वार बनेका विद्यासुन्दरले आफ्ना निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार राजुराज जोशीलार्इ १९ हजार भन्दा बढी मतान्तरले पराजित गरेका थिए। जनप्रतिनिधिले चुनावका बेला गरेका प्रतिवद्धता किन पूरा गर्न सकेनन्?व्यवस्थापिका संसदको विकास समितिका सभापति तथा नेकपा एमाले नेता रवीन्द्र अधिकारीले विद्यासुन्दर शाक्यले ल्याएका चुनावी एजेन्डा तथा जनतासामु गरेका प्रतिवद्धता नै गलत भएको धारणा राख्छन्।
अधिकारीका अनुसार शाक्यले १०१ दिनमा खाका नै तयार नहुने योजनालार्इ १०१ दिनमा पूरा गर्छु भन्नु नै गलत थियो। उनी भन्छन्, ‘अब पनि योजनाका काम सुरु गर्ने हो भने नसकिने योजना भने होइन।’
‘विद्यासुन्दरजी ले सबै कुरा बुझेर जनतासामु प्रतिवद्धता जनाएको भए राम्रो हुनेथियो,’ अधिकारीले भने।
मेयरका ‘एक शून्य एक’ दिनमा मुख्य तीन विवाद
विवाद नम्बर १:विद्यासुन्दर शाक्य काठमाडौं महानगरको विवादमा फसेको देखिन्छ। उनले पद सम्हालेको दिन नै कडा सुरक्षा र साइरन सवारीकै कारण विवादमा फसेका थिए।
आफ्नो सुरक्षामा जति थ्रेट छ त्यही त्यो भन्दा धेरै मात्रामा सुरक्षाकर्मीलार्इ अगाडि पछाडि लगाएको भन्दै शाक्य मेयर भएको पहिलो दिन नै विवादमा तानिएका थिए।
प्रहरीको स्कर्टिङ र साइरनको चर्को विरोध भएपछि अहिले त्यसलाई घटाएका छन्।
विवाद नम्बर २
मेयर शाक्य फसेको दोस्रो विवाद हो मोबाइल खरिद प्रकरण। उनले आफु र उप-मेयर हरिप्रभा खड्गी लगायतका लागि मोबाइल खरिद गर्न रकम छुट्याएका थिए।
यो विषयलार्इ लिएर मेयर शाक्यको व्यापक विरोध पनि भयो। केही समयपछि मेयर शाक्यले यो कुरा सामान्य भएको स्पस्टिकरण दिँदै भनेका थिए, ‘कार्यालय प्रयोजनका लागि मोबाइल खरिद गर्दा मैले के गल्ती गरेँ?’
विवाद नम्बर ३
काठमाडौं महानगरको बजेटमा मेयर शाक्यले आफ्नो गाडी खरिदका लागि बजेट छुट्याएको भन्दै शाक्य विवादमा फसेका थिए। यो विवाद शाक्यको ‘एक शून्य एक’ मा अर्को ठुलो विवाद भए पनि गाडी खरिद प्रकृया भने निर्वाचन अघि नै सुरु भइसकेको थियो।
ललितपुर महानगरका मेयर चिरिबाबु मर्हजनको गाडीसँग तुलना गर्दै उनको व्यापक विरोध भएको थियो।
काठमाडौंबासी के भन्छन्? उनीहरूकै शब्दमा
सुरज होना, बत्तिसपुतली

उहाँले खाल्टा खुल्टी पुर्छु, धुलो सफा गर्ने त भन्नुभएको छ। तर,पहिले वडा कार्यालयबाट व्यवस्थापन गरिरहेको फोहर महानगरले नयाँ नेतृत्व पाएपछि नयाँ निजी संस्थाको जिम्मा लगाइएको छ। यसको कारण सडकमा फोहरको अवस्था झन् अस्तव्यस्त भएको छ। बिहान बेलुका नै सडकभरि फोहर थुपारिएको हुन्छ।
उहाँका प्रतिवद्धता अरुले पूरा गर्न नदिएर या जानी जानी गर्नुभएको छैन भन्ने त थाहा भएन। तर, यहाँका प्रतिवद्धता हाम्रो अगाडि झुट्टा सावित भएका छन्।
मेयरलार्इ मेरो सुझाव भनेको उहाँले चुनावको बेला गरेको प्रतिवद्धता पूरा गर्ने काममा लाग्नुपर्छ। सबै काम एकैपटक हुन्छ भन्ने हुँदैन बिस्तारै बिस्तारै हुँदै जाने हो। त्यसैले उहाँले प्रतिवद्धता गरेअनुसार काम सुरु गरिहाल्नुपर्छ।
बिन्दा रेग्मी, बानेश्वर
नयाँ मेयरको बारेमा अन्य मानिसहरूबाट सुन्दा उहाँले आफ्नैबारे मात्र सोच्नुभएको छ जस्तो लाग्छ। बाटाघाटा पनि अस्तव्यस्त भएका कयौं महिना भइसक्यो। यसको सामाधान नयाँ मेयरले निकाल्न सक्नुभएको छैन।

उदाहरणका लागि त्यो बाटो (गल्लीको बाटो देखाउँदै) हेर्न सक्नुहुन्छ ३ महिलादेखि अस्तव्यस्त भएको छ। हिँड्न मिल्ने अवस्था पनि छैन। यस्ता बाटाहरूमा मेयरको ध्यान नगएको हो कि ध्यान गएर पनि मतलव नगरिएको हो बुझ्न सकेका छैनौं।
हामी सामान्य मानिसहरू कामधन्दा गरेर रोजीरोटीको आशामा हुन्छौं। तर, हामीले नै माथि पठाएका मेयरहरू महङ्गा गाडी मोबाइल किन्ने धुनमा हुन्छन्। उहाँहरूको काम त हामी सार्वसाधारणको सेवा गर्नुपर्ने हो नि।
समाचारमा मेयरका राम्रो कुरा पनि आएका हुन्छन् नराम्रो कुरा पनि आएका हुन्छन्। तर, हाम्रो मूल्याकंनमा खासै केही गरेको जस्तो लागेन। मेयरलार्इ मेरो सुझाव भनेको आफ्नो मात्र होइन जनताको पनि मनोभावना बुझेर अगाडि बढ्नुहोस् भन्ने हो।
नरेश खड्गी, बागबजार
सबैले मेयरको मुख ताक्नुभएन नि। पहिले आफु सक्षम बन्नुपर्यो। सरकारले गरिदेला र खाउँला भन्ने नेपालीहरूमा नराम्रो प्रवृत्ति बढेको छ।

विद्यासुन्दरले गर्छ अनि आफु माथि जाउँला भन्ने कुरा होइन। पहिले आफू सक्षम हुनुपर्यो। त्यसपछि विद्यासुन्दरले केही गर्न सकेन भने मात्र हामीले भन्ने हो।
काठमाडौंमा धेरै समस्याहरू छन्। त्यस्ता सबै समस्याहरू समाधान गर्नको लागि मेयरको मात्र मुख ताकेर हुँदैन परिर्वतन आफैबाट सुरु गर्नुपर्छ। लुकीलुकी बाटोमा फोहर फाल्ने अनि बाटो फोहर भयो भनेर कहाँ हुन्छ त?
मेयरलार्इ मेरो सुझाव जनताले उहाँलार्इ धेरै विश्वास गरेका छन्। त्यसैले उहाँले पनि जनताको हितका लागि काम गर्नुपर्यो। मिडियामा उहाँका विभिन्न नराम्रा विषयमा समाचार आउँछन् यो साँचो हो कि गलत थाहा भएन। तर, त्यस्ता कुरा अब सुन्न नपरोस्।
राजेश तुलाधर, वसन्तपुर
उहाँले विस्तारै विस्तारै गर्दै जानुभएको छ। सय दिनमा नै काठमाडौं पूर्णरुपमा विकासित हुन्छ भन्ने होइन।
विकासका काम उहाँले अगाडि ल्याइराख्नु भएको छ। विभिन्न कर उठाउन नसकेका क्षेत्रबाट कर उठाउने काममा लाग्नुभएको छ।
विद्यासुन्दरले हामीलार्इ गरेको प्रतिबद्धता अनुसार काम गर्नुभएन सबैलार्इ थाहा छ। तर, हामी सबै जनताले विद्यासुन्दरलार्इ मात्र होइन नयाँ जनप्रतिनिधि सबैलार्इ सहयोग गर्नुपर्छ। हामीले सहयोग नगरेपछि सबै जनप्रतिनिधिहरूले काम गर्न सक्दैनन्।

मैले मेयरलार्इ दिने सुझाव भनेको काठमाडौं महानगरमा धेरै समस्या छन् सबैलार्इ चित्त बुझाएर यो महानगरलार्इ विकासको बाटोमा अगाडि बडाउनुहोस भन्ने हो। राम्रो गर्दै जानुहोस्।