PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

आजैदेखि अनसन बस्ने तयारीमा डा. केसी, सरकारी पक्ष मौन



सागर बुढाथोकी

आजैदेखि अनसन बस्ने तयारीमा डा. केसी, सरकारी पक्ष मौन

काठमाडौं :  नेशनल कलेजको सम्बन्धन फिर्ता नलिए डाक्टर गोविन्द केसी आजदेखि फेरि अनसन बस्ने भएका छन्। 

डा. केसीले सरकारलाई १० दिने अल्टिमेटम साउन ११ गते दिएका थिए। १० दिनभित्र नेशनल कलेजकाे दिएको सम्बन्धन खारेज नगरे अनसन बस्ने बताएका थिए।

त्रि वि कार्यकारी परिषद्ले नेशनल कलेजलाई दिएको सम्बन्धन स्थगन मात्र गरेको छ।  

त्रि वि छानबिन कमिटीले बुधबार निरीक्षण गर्दा मापदण्ड विपरित कलेजले सम्बन्धन पाएको बताए पनि सम्बन्धन खारेजी गर्ने अधिकार त्रि वि कार्यकारी परिषद्लाई मात्रै रहेकाे छ।

छानबिन कमिटीका सदस्य डा. प्रशान्त भट्ट छानबिन कमिटीको प्रतिवेदन आएपछि मात्र कार्यकारी परिषद्ले सम्बन्धन दिने नदिने निर्णय गर्ने बताउँछन्। भन्छन्, ‘प्रतिवेदन आउन केही दिन लाग्छ। हामी सकेसम्म चाँडै गर्छौ। आजै कलेजको सम्बन्धन फिर्ता हुने सम्भावना देखिँदैन।’

डा. केसीका वार्ता टोलीका सदस्य डा. अभिशेषराज सिंह सरकारले आज तीन बजेसम्म केही निकास नभए डा. केसीले अनसन सुरु गर्ने बताउँछन्।

‘सरकारी वार्ता टोलीले आजसम्म वार्ताको लागि पहल गरेन। पहिलाको मागहरु पनि पूरा गरेको छैन। कलेजको सम्बन्धन पनि झुलाउनका लागि स्थगन मात्रै गरेको छ।’ सिंहले भने, ‘अब साढे तीन बजेसम्म सरकारले केही पहल गरेन भने अनसन सुरु हुन्छ। डा. केसीले अनसन बस्ने बताइसक्नु भएको छ, रोकिँदैन्।’

डा. केसीले भदौ ११ गते प्रस्तुत गरेका मागहरु
१. काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको अवैध सम्बन्धन तुरुन्त खारेज गरियोस् । त्रि विले दुरुपयोग गरेका सम्बन्धन, विद्यार्थी भर्ना र शुल्क सम्बन्धी सबै अधिकारहरु आइओएममा तत्काल फर्काइयोस्। 

२. हामीले दिएका सुझाव र माथेमा प्रतिवदेनअनुसार परिमार्जन गरेर चिकित्सा शिक्षा ऐन तत्काल जारी गरियोस्। 

३.  त्रि विका उपकुलपति, रेक्टर र रजिस्ट्रारलगायत कार्यकारी परिषद्का सदस्यहरुलाई बर्खास्त गरी तत्काल छानविन र कारवाहीको प्रक्रिया अघि बढाइयोस्। चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ आयोगको म्याद तत्काल थपेर काम गर्ने वातावरण मिलाइयोस् ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell