बुद्ध एयरले भरतपुर–पोखरा, भैरहवा–पोखरा उडानको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

पर्यटकीय क्षेत्रका रुपमा सौराहा र लुम्बिनी पुग्ने पर्यटकहरु तथा नारायणगढ–मुग्लिन सडकको दुरावस्थाबाट पीडित बनेका यात्रुलाई लक्षित गरी आगामी भदौ ३० गतेदेखि नियमित उडानको सबै तयारी पूरा भएको बताइएको छ ।
भरतपुर विमानस्थलमा पत्रकार सम्मेलन गर्दै राजधानी जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन सडकखण्डको यात्राबाट समस्या भोगिरहेका यात्रुहरुले राहत महसुस गर्ने बुद्ध एयरका प्रबन्धक भक्तबहादुर बस्नेतले जानकारी दिए ।
‘चितवनको पर्यटन व्यवसायलाई प्रर्वद्धनका साथै बाढी र पहिरो जस्ता विपद्का कारण नाजुक बनेको सडकको बिकल्प दिनका लागि सहयोगी हुनेछ।‘- बस्नेतले भने।

बुद्ध एयरको पहिलो उडान पोखरा–भरतपुर विहान १० बजे र भरतपुर–पोखरा उडान १०:३५ मा र सोही दिनबाटै पोखरा–भैरहवा बिहान ११:१० बजे र भैरहवा–पोखरा ११:४० बजे उडान भर्ने कम्पनीले जनाएको छ।
बुद्ध एयरको १८ सिट क्षमता भएको जहाजमा भरतपुर–पोखराको हवाई भाडा दर ३ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ। बुद्ध एयरले भरतपुर–काठमाडौंमा अहिलेसम्मकै धेरै उडान भर्दै आईरहेको छ ।
यात्रुको चाप बढेको बेला बुद्ध एयरको दैनिक १९ वटा उडान गर्दै आएको बस्नेतले जानकारी दिए । बुद्ध एयरले सन् २००५ बाट चितवनमा सेवा शुभारम्भ गरेको थियो ।