PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

रोहिङ्गा समुदायमाथि ज्यादती नभएको आङ सान सुकीको दाबी



रासस

रोहिङ्गा समुदायमाथि ज्यादती नभएको आङ सान सुकीको दाबी
फोटो श्रोतः thejakartapost.com

यांगुन : म्यानमारका बिदेशमन्त्री एवम् म्यानमार राज्यका राज्य सल्लाहकार आङ सान सुकीले रोहिङ्गा समुदायका नागरिकमाथि सैनिक ज्यादती नभएको बताएकी छन्। 

उनले त्यस समुदायका नागरिकका बस्तीमा आगजनी गरिएको भन्नेजस्ता समाचारहरु आएकोमा त्यसको खण्डन गरेकी छन्। उनले यस्तो कुनै दुव्र्यबहार उनीहरुमाथि नभएको पनि स्पष्ट पारेकी छन्। 

उनले यी समाचारहरु आतङ्ककारीलाई सहयोग पुग्नेगरी आएका गुनासोगर्दै त्यस्तो कुनै पनि ज्यादतीको समाचार आफूले थाहा नपाएको पनि स्पष्ट पारेकी प्राप्त समाचारमा जनाइएको छ। 

तर, म्यानमारमा केही समययता भड्किएको हिंसाका कारण यहाँको अल्पसंख्यक रोहिङ्गा मुस्लिम समुदायका नागरिकमाथि ज्यादती बढेको अधिकारवादीहरुको आरोप छ। 

उनीहरुले अल्पसंख्यक जातिको मानवअधिकार हनन् भएकाले त्यसो नगर्न र उनीहरुलाई पनि आफ्नो समुदायमा सुरक्षित हिसाबमा बस्न दिन विश्वका मानवअधिकारवादीहरुले आग्रह गरेका छन्। 

हिंसाका कारण यहाँबाट दशौँ हजार शरणार्थी बङ्गलादेश पुगेका छन्। बंगलादेशमा म्यानमारबाट दैनिक हजारौँ नागरिक बाहिरिएको तथ्यांक हालैमात्र संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको थियो। 

रोहिङ्गा मुस्लिम समुदायका नागरिकमाथि सुरक्षाकर्मीहरुले पनि ज्यादति गरेको गुनासो बढिरहेका बेला विश्वका अधिकारवादीहरुले चासो राखेका हुन्।

उनीहरुको घर बस्तीमा आगो लगाइएको र कुटपिट गरिएको भन्दै सुरक्षाका लागि अधिकारवादीहरुले चासो व्यक्त गरेका छन्। 

अधिकारवादीहरुले उनीहरुको बस्ती जलाइएको र कतिपय अवस्थामा उनीहरुलाई घरबाट परिवारसहित लखेटिएको पाइएको उनीहरुको आरोप छ । 
संयुक्त राष्ट्रसंघले दिएको जानकारी अनुसार गत अगस्त २५ बाट सोमबारसम्म बङ्गलादेश प्रवेश गर्ने म्यानमारका शरणार्थीको सङ्ख्या करिब ९२ हजार पुगेको थियो। यो क्रम अहिले पनि जारी रहेको उनीहरुको भनाई छ। 

यसैबीच, म्यानमारबाट बङ्गलादेशतर्फ जाने क्रममा बुधबार बिहान डुंगा डुब्दा कम्तीमा पनि पाँच जना बालबालिकाको ज्यान गएको छ। 

प्राप्त समाचारअनुसार म्यानमारबाबाट भागिरहेका रोहिङ्गा जातिका शरणार्थी बङ्गलादेश जाने क्रममा एउटा डुंगा डुबेको हो। त्यसमा रहेका यात्रुमध्ये पाँच जना बालबालिकाको ज्यान गएको हो । 

म्यानमारको राखिन राज्यमा पछिल्लो समय जाती र धर्मका कारण हिंसा भड्किदै गएका कारण यहाँबाट भागेर बङ्गलादेश जाने क्रम पनि बढेको हो। 

बुधबार पनि बिहानैदेखि रोहिङ्गाहरु नाफ नदी भएर बङ्गलादेशतर्फ भागेर जाने क्रम शुरु भएको छ। बुधबार बिहानैदेखि कैयौँ डुंगाले उनीहरुलाई बोकिरहेका छन्। 

यसबीचमा कैयौँ डुंगा डुबेका कारण दर्जनौँको ज्यान गइसकेको छ। नाफ नदी म्यानमार र बङ्गलादेशको सीमामा पर्दछ। त्यस क्षेत्रमा सुरक्षाको प्रबन्ध गरिएको भनिए पनि दुर्घटनाहरु पनि भएका छन्। रासस/एएफपी 

म्यानमारमा गोली चल्दा कपनमा रुवावासी! म्यानमार हिंसाको यस्तो छ नेपाल कनेक्सन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell