PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

तेस्रो चरण चुनावमा कुन दलको तालमेल कता?   



आकाश क्षेत्री

तेस्रो चरण चुनावमा कुन दलको तालमेल कता?   

काठमाडौं : असोज २ मा हुँदै गरेको प्रदेश नम्बर दुर्इको तेस्रो चरण चुनावका लागि दलहरुले चुनावी तालमेलको प्रकृयालार्इ अगाडि बढाएका छन्। 
माओवादी केन्द्रका नेता तथा कार्यकर्तालार्इ प्रशिक्षण दिन र  चुनावी  प्रचारमा दुर्इ नम्बर प्रदेश पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी तालमेलको विषयमा सञ्चारकर्मीसँग माओवादी केन्द्र जुनसुकै संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै दलसँग चुनावी तालमेल गर्न सकिने बताउँदै आएका छन्। 

‘संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर जो-कसैसँग पनि तालमेल गर्न सकिन्छ’ एक कार्यक्रममा चुनावी तालमेलबारे सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने। 

प्रदेश नम्बर दुर्इमा माओवादी केन्द्रको जोड मधेशकेन्द्रित दलसँग मिलेको समेत प्रचण्डले दावी गरेका छन्।

‘एउटासँग तालमेल गर्ने अर्कोसँग नगर्ने भन्ने हाम्रो छैन तर, दुर्इ नम्बर प्रदेशमा चाँही मधेश केन्द्रित दलहरु फोरम लोकतान्त्रिक, संघीय समाजवादी फोरम लगायतका दलसँगको तालमेललार्इ प्राथमिकता दिने भन्ने हाम्रो निर्णय छ,' प्रचण्डको भनार्इ छ।   

एमाले आफ्नै खुट्टामा उभिने

दुर्इ नम्बर प्रदेशमा नेकपा एमाले कुनै पनि दलसँग तालमेल नगरेर आफ्नै खुट्टामा उभिने भएको छ। पहिलो र दोस्रो चरण जस्तै तेस्रो चरणमा पनि एमाले जितमा विश्वस्त भएका कारण कसैसँग तालमेल नगरेर आफ्नै खुट्टामा उभिएर चुनावमा उत्रिने एमालेले बताएको हो।  

दुर्इ नम्बर प्रदेशको चुनावी गतिविधि नियाल्ने जिम्मा पाएका एमाले नेतामध्ये एक प्रदिप ज्ञवालीले दुर्इ नम्बर प्रदेशमा एमालेको पकड राम्रो भएकाले पार्टीलार्इ तालमेलको आवश्यकता नभएको पहिलोपोस्टलार्इ बताए।

नेता ज्ञवालीले भने, ‘तालमेल भनेको प्रतिस्पर्धी बलियो भएमा प्रतिस्पर्धीलार्इ हराउनको लागि गरिन्छ। तर, दुर्इ नम्बर प्रदेशमा हाम्रो सबै प्रतिस्पर्धी नै छन्। फेरि प्रतिस्पर्धीसँग तालमेल गर्न सकिँदैन।’  

राजपा एमालेसँग टाढै बस्ने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नम्बर दुर्इमा हुने तेस्रो चरणको निर्वाचनमा अन्य पार्टीसँग तालमेल गरे पनि नेकपा एमालेसँग कुनै हालतमा तालमेल हुन नसक्ने बताउँदै आएको छ। 

६ र ७ गते बसेको केन्द्रीय पधादिकारी र अध्यक्ष मण्डलको बैठकमा निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले राजपा एमालेबाहेक अन्य जुनसुकै दलसँग तालमेल गर्न सक्ने बताएका थिए।

राजपा अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले भने दुर्इ नम्बर प्रदेशबाट आवश्यकता अनुसार कुन दलसँग तालमेल अगाडि बढाउने भन्ने निचोडमा पुग्दै गरेको पहिलोपोस्टलार्इ बताए। 

अध्यक्ष मण्डलकै अर्का सदस्य राजकिशोर यादवले पनि राजनीतिक मुद्दा नमिलेका कारण राजपाको तालमेल एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नहुने पहिलोपोस्टलार्इ जानकारी दिए। यादवले भने, ‘एमाले र राप्रपाबाहेक अन्य दलसँग तालमेलको कुरा अगाडि बढ्न सक्छ।‘   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell