PahiloPost

Jun 2, 2025 | २० जेठ २०८२

क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको निधन 



रासस

क्यानका पूर्वअध्यक्ष जयकुमारनाथ शाहको निधन 

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)का पूर्व अध्यक्ष जयकुमारनाथ शाहको आज निधन भएको छ। 

लामो समयदेखि मुटु रोगबाट ग्रसित ८९ वर्षीय शाहको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।

उनलाई एक साताअघि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको थियो। नेपाली क्रिकेट टिमका पूर्व राष्ट्रिय खेलाडी शाहको उपचारका क्रममा आज निधन भएको हो। 

शाहले विसं २०२२ सालदेखि नेपाल क्रिकेट संघको नेतृत्व गरेका थिए। उनले लगातार करिब चार दशकसम्म संघको नेतृत्व गरे। शाहले नेतृत्व गरेपछि नै नेपाल अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन थालेको हो। 

यसै बीच, नेपाल क्रिकेट संघका निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले शाहको निधनले नेपाली क्रिकेटमा अपुरणीय क्षति पुगेको बताए। अध्यक्ष चन्दले शाह नेपाली क्रिकेटको सिंगो इतिहास भएको बताए। 

शाहको नाममा जीवित छँदै ‘जय ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता’ सञ्चालन भएको थियो। प्रतियोगिता २०५८ सालपछि एकाएक रोकियो। उनी एसियाली क्रिकेट परिषद् (एसिसी) को उपाध्यक्षसमेत रहिसकेका छन्।

भदौ ६ गते काठमाडौंमा सम्पन्न क्यानको विशेष साधारणसभामा शाहलाई युवा तथा खेलकुद मन्त्री राजन केसीले दोसल्ला ओढाएर सम्मान गरेका थिए। 

शाहले भारतमा क्रिकेट खेल्ने क्रममा ९६ रन बनाएका थिए। उनी क्रिकेट खेल्दा आफू शतक बनाउनबाट चुकेको कुरालाई बारम्बार स्मरण गर्ने गर्थे। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शाहलाई सन् २००३ मा लाइफटाइम सर्भिस अवार्डबाट सम्मान गरेको थियो। यो पुरस्कार पाउने शाह पहिलो नेपाली हुन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell