PahiloPost

May 5, 2026 | २२ बैशाख २०८३

अन्जु पन्तको पहिलो सोलो कन्सर्ट, फाइदाको रकम शिक्षामा सहयोग



पहिलोपोस्ट

अन्जु पन्तको पहिलो सोलो कन्सर्ट, फाइदाको रकम शिक्षामा सहयोग

काठमाडौं: गायिका अन्जु पन्त पहिलो पल्ट एकल साँझमा प्रस्तुत हुन लागेकी छिन्। अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जुको एकल गायन हुन लागेको हो।

कार्यक्रममा अन्जुले आफ्ना आधा दर्जन गीत सुनाउने जानकारी दिइएको छ। जसका लागि २७ जना वाद्यवादकको टोलीले उनको साथ दिनेछन्। कार्यक्रमको तयारीमा व्यस्त उनले भनिन्,'दुई दशक लामो सांगीतिक यात्रामा पहिलोपटक सोलो कन्सर्टको अनुभव संगाल्ने तयारीमा छु। त्यसैले उत्साहित छु।'

दुई घन्टा लामो हुने कार्यक्रममा उनले पछिल्लो समय चलेका ‘म यस्तो गीत गाउँछु’,‘भन्छु आज’, ‘सुर्के थैली’सँगै सुगम संगीतमा सर्वाधिक लोकप्रिय रहेका ‘नबिर्सें तिमीलाई नपाएँ तिमीलाई’, ‘जिन्दगी यो फूलै फूलको थुंगो हुँदैन’ आदि गीत गाउने तयारी गरिरहेको बताइन्।

गायिका अन्जुले एकल साँझबाट उठेको फाइदाको रकम पर्दा पछाडि काम गर्ने रेकर्डिस्टको संस्था रेकर्डिस्ट एसोसियनलाई ५० प्रतिशत र गरिब जेहनदार बालबालिकाको शिक्षाका लागि ५० प्रतिशत खर्चने समेत घोषणा गरिन्। भदौ २४ गते अर्थात् आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने एकल साँझमा सहभागिताका लागि टिकट मूल्य ३ हजार, २ हजार र १ हजार राखिएको छ।

कार्यक्रम आउँदो शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा साँझ ४ बजेबाट सुरु हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell