PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १२ स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिने



रासस

चाडपर्वलाई लक्षित गरी उपत्यकाका १२ स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन गरिने

काठमाडौं :  महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजको संयुक्त सहभागीमा यात्रु सहायता कक्ष सञ्चालन गरिने भएको छ। 

सरकारले दशैँमा घर जाने लामो तथा मझौला दूरीका यात्राका लागि यही भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेसँगै महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौं उपत्यकाको १२ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गर्न लागेका हाे। 

उपत्यकाको नागढुङ्गा, कलङ्की, स्वयम्भू, नयाँ बसपार्क, पुरानो बसपार्क, सुन्धारा, चावहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल र बल्खुमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने भएका छन्। 

महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले यात्रुको सहजताका लागि ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजका प्रतिनिधि रहने गरी यात्रु सहायता कक्ष स्थापना गर्न लागिएको जानकारी दिए। 

उनले बसको क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुलाई गन्तव्यसम्म नपुर्याई बीच बाटोमा अलपत्र पारेर छाड्ने, बढी भाडा लिने, टिकट कालोबजारी गर्नेलगायत काम गरेमा कारबाही गरिने बताए।

यातायात व्यवसायीले भने सामान लैजानका लागि छतको व्यवस्था हुनुपर्ने र सवारी साधन गुड्नका लागि बाटो राम्रो बनाउन सरकारलाई पटकपटक आग्रह गरेका छन्। 

यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला चाडपर्वमा घर जाने यात्रुको सामान धेरै हुने र राख्ने ठाउँ नहुँदा यातायात सञ्चालन गर्न समस्या हुने बताउँछन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell