PahiloPost

Feb 1, 2025 | १९ माघ २०८१

२७ तोला सुनका लागि हत्या गर्ने भरौट प्रहरी फन्दामा, यसरी भएको थियो घटना



सविन ढकाल

२७ तोला सुनका लागि हत्या गर्ने भरौट प्रहरी फन्दामा, यसरी भएको थियो घटना

काठमाडौं : राजधानीमा एक महिलाको विभत्स हत्या गरी धनमाल लुटपाट गरेको आरोप लागेका फरार अभियुक्तलाई प्रहरीले पक्रेको छ। पक्राउ पर्नेमा काभ्रेका २० वर्षीय भरौट भन्ने निशान्त रसाइली रहेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले रसाइलीलाई बुधबार समातेको हो। 
बुढानिलकण्ठ नगरपालिकाको नारायणस्थान तैलुङमा साउन १२ गते दिउँसो ५६ वर्षीया पार्वती ढकालको हत्या भएको थियो। छोरीको घरमा बस्दै आएकी ढकालको हथौडाले हानेर हत्या गरिएको थियो। लुटेराले हत्यापछि धनमाल लुटेर फरार भएका थिए। 

उनीसँग रहेको २७ तोला सुन लुट्नका लागि हत्या गरिएको महाशाखाले जनाएको छ। प्रहरीले भदौ २ गते  नुवाकोट घर भएका ३० वर्षीय सुदामा लामिछानेलाई हत्याको आरोपमा पक्राउ गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। उनी यसअघि पनि बलात्कारको मुद्दामा ८ वर्ष जेल सजाय पाइसकेका व्यक्ति भएको प्रहरीले जनाएको छ। उनलाई कपिलवस्तुबाट साउन ३२ गते पक्राउ गरेर काठमाडौं ल्याएको थियो। 

यसरी भएको थियो घटना  

अभियुक्त सुदामा लामिछाने र अर्का अभियुक्त भरौटा भन्ने निसान्त रसाइली बीच ३/४ महिना अगाडीदेखि चिनजान भएको। सुदामा लामिछाने, भरौटा भन्ने निसान्त रसाइली र मुस्कान भन्ने हरिशरण अधिकारी समेत भई गत जेष्ठ महिनाको पहिलो सातमा  गोंगबुमा रहेको एक गेष्ट हाउसमा बसी घर लुट्ने योजना बनाएका थिए।

योजना बनाउनेमध्ये मुस्कान भन्ने हरिशरण अधिकारीको तत्काल उपत्यका बाहिर जाने काम परेकाले घर लुट्ने योजना असफल भएको थियो। साउन ९ गते  गते राती १० बजेको समयमा पुन: तिनै जना काठमाडौं माछापोखरीको गुणस्तर तथा नापतौल विभाग पछाडि रहेको कोशी मोरङ गेष्ट हाउसमा बसी सुदामा लामिछानेले श्रावण १५ गते भित्रै लुटिसक्नु पर्ने कुरा राखे।

उनले घरबेटी आमालाई श्रावण १५ गते विदेश जाने टिकेट छ भनेर योजना सुनाएका थिए। १२ गते गते सुदामा लामिछानेले भरौटा भन्ने निशान्त रसाइलीलाई एउटा मोटरसाइकल लिएर गंगा सिनेमा हल अगाडि बोलाए। भरौटाले २२० सीसीको नीलो/कालो मोटरसाइकलमा सुदामा भएको ठाउँमा गए। सुदामा मोटरसाइकलको पछाडि बसे। चक्रपथ हुँदै बुढानिलकण्ठ मन्दिरको दाहिनेतिर अगाडि बढेपछि अलिक उकालो भएको ठाउँमा मोटरसाइकल रोकी सुदामा एक्लै एउटा घर भित्र पसे। भरौटा मोटरसाइकल रोकेको ठाउँमै बसेको र १ घण्टा पछि सुदामाले घरको छतबाट सिठ्ठीको इसाराले भित्र बोलाए। सुदामाले बोलाइसकेपछि भरौटा घर भित्र गए।

भित्र जाँदा पार्वती ढकाल रक्ताम्य भई भुईंमा लडिरहेकी थिइन्। भरौटाले पनि घटनास्थलमा भेटिएको ह्याम्बरले २ पटक पार्वती ढकालको टाउकोमा हाने। त्यसपछि त्यहाँ भएको धनमाल रातो कालो रंगको झोलामा राखेर निस्किए। सुदामा र भरौटा त्यहाबाट निस्की पुन: बालाजुको माछापोखरी चोकमा आए। लुटेर ल्याएको धनमालमध्ये केही सुदामाले भरौटालाई दिए। त्यहाँबाट उनीहरु बाहिरिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell