काठमाडौं: चलचित्र प्राविधिक संघको अठारौं साधारण सभामा संघले प्राविधिक र संचारकर्मीलाई सम्मान प्रदान गरेको छ। बुधबार सम्पन्न साधरण सभामा दुबईमा सम्पन्न नवौं नेफ्टा फिल्म अवार्डमा योगदान दिने संचारकर्मीलाई सम्मान साथै नेपाली फिल्मको अन्तराष्ट्रिय विस्तार बारे छलफल भयो। संघले पेशागत हितसँगै नेपाली फिल्मको विस्तार थप सशक्त बनाउने निर्णय गरेको छ।
कार्यक्रममा भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितको प्रमुख आतिथ्य रहेको थियो। उनले पर्दा अगाडिभन्दा पछाडि बसेर योगदान गर्ने प्राविधिकको सम्मान सधैं आवश्यक हुने बताए। भने,'प्राविधिकको परिश्रमले सिनेमा र प्रविधिले गति लिएको छ। यो संघलाई उद्योगकै नेतृत्वको जिम्मा लिए झनु राम्रो।'
अध्यक्ष पुष्कर लामाले अघिल्लो वर्षका उपलब्धीको चर्चा गर्दै आउँदो वर्षलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाए। 'प्राविधिकको वृत्ति विकासलाई हेरेर आकस्मिक राहत कोष स्थापना गरिएको छ अब पेशागत हकहित सशक्त तुल्याउने छौं', उनले प्रण गरे। अवार्डलाई नियमित प्रक्रियाजस्तो कर्मकाण्डीय मात्र नगराएर घरेलु सिनेमाको अन्तराष्ट्रियकरण, बजार विस्तार र संस्कृति प्रवद्र्धन हुने किसिमले आयोजना गरिने जानकारी समेत दिए।