काठमाडौंः भारतकी वरिष्ठ पत्रकार गौरी लंकेशलाई गोली हानी हत्या गरेको विरोधमा नेपालका पत्रकार र लेखकहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।
हत्याको विरोधमा नेपालका पत्रकार तथा लेखकहरूले माइतीघर मण्डलामा विरोध पदर्शन गरेका हुन्।
विरोध प्रदर्शनमा लेखक सिके लालले यो घटना लंकेशमाथि मात्र नभएर सारा कलमकर्मीमाथिको आक्रमण भएको बताए। उनले भने, ‘उनले हिन्दूत्वको विरोधमा समाचार तथा लेख लेखेकै कारण मारिएकी हुन्।’
सिके लालका अनुसार गौरी लंकेशको विज्ञापनरहित पत्रिका बहुचर्चित थियो।
यसअघि भारतमा बिजेपीको माउपार्टी कट्टर हिन्दूवादी संगठन आरएसएसका नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि समाचार तथा लेख लेखेकै आधारमा नरेन्द्र दाभोलकर, डा। गोविन्द पानसरे र डा. एम.एम. कलबुर्गीको हत्या भइसकेको छ।
जसको विरोधमा भारतका वैज्ञानिक, पत्रकार, लेखक, साहित्यकारहरूले राज्यद्वारा दिइएका सम्मान तथा पदवी फिर्तासमेत गरेका थिए।
भारतमा गौरी लंकेशको मंगलबार साँझ भएको हत्यालाई यसै सन्दर्भमा गरिएको अर्का हत्याको रूपमा हेरिएको छ। लंकेशको बैंगलोरस्थित उनकै निवासमा गोली हानी हत्या गरिएको थियो।