PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

सुनसान दरबारमार्ग : अनुगमनका कर्मचारीमाथि हातपातको प्रयास, व्यापारीको नाराजुलुश



पहिलोपोस्ट

सुनसान दरबारमार्ग : अनुगमनका कर्मचारीमाथि हातपातको प्रयास, व्यापारीको नाराजुलुश

वसन्तराज उप्रेती  

काठमाडौं : दरबारमार्गका ब्राण्डेड पसलको ठगी धन्दा रोक्न सरकारले गरेको अनुगमनमा व्यापारीले अवरोध गरेका छन्।

आपूर्ति व्यवस्थापन विभागबाट आएको चार वटा टोलीले दरबारमार्गमा रहेका ब्राण्डेड पसलमा अनुगमन गर्न खोज्दा व्यवसायीले अवरोध गरेका हुन्। व्यापारीले अनुगमनका कर्मचारीमाथि समेत हातपातको प्रयास गर्दै  अवरोध गरेका थिए।

अनुगमनलार्इ रोक्न व्यापारीले 'राज्य आतंक बन्द गर' भन्दै नाराजुलुश गरेका थिए। अनुगमनमा कर्मचारी आउने बित्तिकै दरबारमार्गका धेरै पसल बन्द गरेर अवरोध सिर्जना गरेका थिए।

अनुगमनमा अवरोध गरेपछि कर्मचारीले थप सुरक्षा बल मगाएर धेरै मुनाफा लिने ब्राण्डेड पसलमा सिल गरेको थियो। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका सदस्य दर्शन आचार्यका अनुसार व्यापारीले कर्मचारीमाथि नै जाइलाग्ने परिस्थिती आएपछि थप प्रहरी बल मगाएर ठगी गर्ने पसलमा सिल लगाइएको बताए। उनका अनुसार वाच एण्ड सी र सुलक्स सेन्टरमा बढी मूल्यमा घडी बिक्रीका लागि राखिएको पाइएपछि सील गरिएको छ।

ब्राण्डेड घडी बिक्री गर्ने सुलक्स सेन्टरले ८७ हजार रुपैयाँमा किनेको घडी २ लाख ५ हजार रुपैयाँमा बिक्री गरेको पाइएपछि सिल गरिएको हो। वाच एण्ड सीले ४५ सयको घडी १३ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो। दरबारमार्गमै रहेको एमबिए इन्टरनेशनलले भने २० प्रतिशत मात्रै मुनाफा लिएर घडी बिक्री गरेको पाइएपछि अनुगमन टोलीले कुनै कारवाही नगरि फर्किएको थियो।

आपूर्ति व्यवस्थापन विभागको टोलीले केही दिनअघि दरबारमार्गको ब्राण्डेड शपमा अनुगमन गरेको थियो। अनुगमनको क्रममा दरबारमार्गमा रहेका ब्राण्डेड पसलले 'सेल'का नाममा ठगी गरेको पाइएको थियो।






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell