काठमाडौं : स्व. सुनिललाल जोशीले नेपाली भारोत्तोलन क्षेत्रमा पूर्याएको योगदानको कदर गर्दै प्रथम नेपाल स्ट्रोङ्गेस्ट सुनिललाल जोशी स्मृति भारोत्तोलन च्याम्पियनसिप आयोजना भएको छ।
काठमाडौं जिल्ला भारोत्तोलन संघको आयोजनामा यही भदौ २८ र २९ गते प्रतियोगिता गर्न लागेको आयोजकले बुधबार पत्रकार सम्मेलन गर्लै जानकारी दिएको हो। दुई दिन सञ्चालन हुने प्रतियोगिता ललितपुरस्थित बालकुमार बैँक्वेटमा हुनेछ।
प्रतियोगितामा महिला र पूरुष दुवैको सिनियर र जुनियर क्याटेगोरीमा गरी कूल २७ वटा तौल समूह प्रतिस्पर्धा गराइनेछ।
जसअन्तर्गत सिनियर पुरुषतर्फ ८ तौल समूह र सिनियर महिलातर्फ ७ तौल समूह समावेश छन्। यस्तै जुनियर महिला र पुरुष दुवैमा समान ६ तौल समूह समावेश गरिएको छ।
पुरुष सिनियरमा ५६, ६२, ६९, ७७, ८६, ९४, १०५ र १०५ प्लस तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला सिनियरमा ४८, ५३, ५८, ६३, ६९, ७५ र ७५ प्लस तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा तीन विभागिय क्लब र विभिन्न जिल्लाका गरी कूल ९० खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा महिला र पुरुष दुबै विधाका विजेताले नगद ११-११ हजार पुरस्कार प्राव्त गर्नेछन् भने महिला र पुरुष दुवै विधाका बेस्ट लिफ्टरले ट्रफी पाउनेछन्। राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ।
यस्तै जुनियर विधातर्फ पनि विजेता र बेस्ट लिफ्टरले ट्रफी पाउनेछन् भने राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीले नगद पुरस्कार पाउनेछन्। यस्तै जुनियरमा उदयीमान महिला र पुरुष खेलाडीले पनि ट्रफी पाउनेछन्।
प्रतियोगिताका लागि बाहिर जिल्लाबाट आउने खेलाडीको खाने बस्ने खर्च आयोजकले बेहोर्ने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताको लागि २ लाख खर्चे लाग्नेछ।
नेपाली भारोत्तोलन इतिहासमै सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडी रहेका सुनिललाल जोशीको गत असार ११ गते निधन भएकव थियो।
उनले छैटौँ बाहेक प्रथम देखि सातौँसम्म ६ पटक साफ गेम्स खेल्दै ७ रजत र ९ कास्य पदक जितेका थिए। यस्तै राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा चार पटक स्ट्रोङ्गेस्ट म्यान घोषित भएका थिए।