
संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पूर्वी युक्रेनमा हालै भएको भनिएको युद्धविरामको पालना गर्न आग्रह गरेका छन्।
उनले गत हप्ता पूर्वी युक्रेनमा भएको युद्धविरामको सदुपयोग गरी तथा यसलाई गम्भीरतापूर्वक रुपमा लिएर लागूगर्न सकिएमा शान्तिवार्ताका माध्यमबाटै सबै समस्याको समाधान हुने बताए।
बुधबार विज्ञप्ति जारी गरी उनले राजनीतिक पार्टीहरुलाई पनि हाल हिंसाको अन्त्यका लागि आधार बनिरहेको र युद्धविरामका माध्यमबाट नै समस्याको समाधान सहज हुने भएकोले सबैले सोच्नुपर्नेमा जोड दिएका छन्।
विज्ञप्तीमा भनिएको छ ‘शान्ति स्थापनाका लागि यहाँका राजनीतिक दल र नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ, यसतर्फ सबैको ध्यान जाओस।’
युक्रेनमा गत हप्ता नयाँ युद्धविरामको घोषणा गरिएको थियो। तर युद्धविरामको घोषणा भएसँगै सो क्षेत्रमा पुनः हमलाका समाचार भने आएका छन्। त्यसैले यस युद्धविरामको अवस्थालाई निरन्तरता दिन उनले आग्रह गरेका छन्।
युद्धविरामका लागि फ्रान्स र जर्मनीका अधिकारीहरुले भूमिका निर्वाह गरिरहेका छन्।
पूर्वी युक्रेनमा गएका केही वर्षदेखि पृथकतावादी नारा सुरु भएको छ। युक्रेनबाट क्राइमिया भूभाग अलग भएर रसियामा बिलय भएपछि यहाँका नागरिकले पनि आत्मनिर्णयको अधिकारको माग गरेर हिंसात्मक आन्दोलन गरेका हुन्।
तर युक्रेनले भने उक्त भूभागलाई कुनै पनि हालतमा अलग हुन नदिने अडान लिएको छ। जसका कारण त्यहाँ सशस्त्र विद्रोह सुरु भएको हो। रासस/सिन्ह्वा