काठमाडौं : काठमाडौं महानगपालिकाको मेयरमा उम्मेद्वारी दर्ता भएको भोलिपल्ट वैशाख २० गते विद्या सुन्दर शाक्यसँग भएको भेटमा सोधेका थियौं - मेयर जित्नु भयो भने के के गर्नुहुन्छ?
उसले सहज रुपमा जवाफ दिएका थिए-
'ट्राफिक जामले ग्रस्त छ, यसमा सुधार गर्छु।'
'निजी होइन सार्वजनिक सवारी प्रयोगमा प्राथमिकता दिन्छु।'
'तीन वर्षभित्र काठमाडौंमा मोनो रेल संचालन गर्छु।'
'मोनो रेल संचालन गरेर आफैँ सार्वजनिक सवारी चढ्छु।'
'क्लिन सिटी अभियान शुरु गर्छु।'
फराकिलो मतान्तरले उनले चुनावमात्र जितेनन् कार्यभार सम्हालेको पनि १०० दिन पूरा भइसक्यो।
उनले सय दिनभित्र गर्ने कामको सूची नै तयार पारेका रहेछन् त्यतिखेर। सरर सुनाएका थिए। जेठ १४ गते उनी मेयरमा भए। राष्ट्रिय सभामा उनको विजयको उत्सव चल्दै थियो। फेरी दोस्रो पटक उनै मेयरलाई प्रश्न गर्ने मौका मिल्यो। तपाईँका प्रतिवद्धता के हुन्छ अब? उनले फेरि भने जेजे गर्छु भनेको थिएँ समयमै पूरा गर्छु। ढुक्क हुनुहोस्।
मेयर शाक्यको पदभार ग्रहणको बुधवार सय दिन पूरा भएको छ। तर, उनका बाचा अधुरा नै छन्।
सय दिनपछि तेस्रो पटक सोध्यौं- तपाईँका प्रतिवद्धता पूरा भए त?
उनीसँग यस पटक भने पहिले झै प्रष्ट जवाफ थिएन। शाक्यले भने, 'केही भए। धेरै योजना र प्रकृयाको चरणमा नै छन्।'
आफ्ना बाचा पूरा नहुनमा उनले केही आन्तरिक र केही प्राविधिक कारणलाई दोष लगाए। 'सय दिनमा मेरो कामप्रति म आफैँ सन्तुष्ट छैन। जुन स्प्रिरिटमा काम गर्नुपर्ने हो त्यो हुन सकेन,' स्वीकारे।
तर उनले आफूले भन्दा अरुकै कारणले काम गर्न नसकेको दावी गर्न भ्याइहाले।
'काम गर्ने वातावरण भएन। वातावरण बनाउँदै छौं। आफू काम गर्दै जाने अरुले भाँजो हाल्यो भने काम गर्ने अप्ठ्यारो हुन्छ,' उनले आफैँ दुखेसो पोखे।
त्यसो भए तपाईँलाई राजनीतिक दवाव परेको हो?
दवालाई उनले सोझै त स्वीकारेनन्। तर, नकार्न पनि सकेनन्। मेयर शाक्यले सय दिनमा गर्छु भनेका प्रतिवद्धता महत्वकाक्षी नभएको दावी भने गर्न छाडेनन्।
'गर्न नसक्ने केही पनि छैनन्,' भने, 'मैले बोलेको काम एक्लैले मात्र गर्न भने नसक्ने रहेछ।'
राज्यले महानगरलाई सहयोग नगरेको उनको गुनासो छ। सडक खाल्डाखुल्डी पुर्ने विषयमा पनि शाक्य आलोचित भए। यसमा पनि उनी पन्छिने मुडमै देखिए।
सडक भत्काउने काम अरु निकायले गरेको भन्दै दोष महानगरलाई लगाइएकोमा उनको चित्त दुखेको रहेछ। भने, 'हामीले सडक निर्माण गरिरहेका छौं तर अरु निकायले सडक भत्काउँछ। अनि आरोप चाहिँ महानगरलाई लगाउने गरेका छन्।'
शाक्यले १ सय दिनमा पूरा गर्छु भनेका प्रतिवद्धता पूरा नहुँदा उनका अन्य महत्वकांक्षी योजनाको विश्वसनीयता के त? मनोरेलको हालत के होला?
शाक्य अझै पनि आफ्नै कार्यकालमा मनोरेल चलाउने दावी गर्छन्। 'मेरै कार्यकालमा मनोरेल चल्छ। प्रकृया अगाडि बढिसकेको छ,' उनले भने।
सामाजिक सञ्जालमा मात्र आफू आलोचित हुने गरेको तर महानगवासी कामप्रति खुशी भएको उनको दावी छ। 'ढिलै भए पनि काम भइरहेको छ। महानगरवासी खुशी छन्,' उनले भने।