PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

के भन्छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरु?



राधेश्याम पटेल

के भन्छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरु?

परवानीपुर : पर्सा जिल्लाको सम्पूर्ण स्थानीय तहमा उम्मेदवार मनोनयन दर्ता सम्पन्न भएको छ। दलहरु बाजागाजा र र्‍यालीसहित मनोनयन दर्ताका लागि निस्किएका थिए। वीरगञ्ज महानगरपालिकाको लागि जिल्ला समन्वय समिति परिसरमा मनोनयन दर्ता भएको थियो।

वीरगञ्ज महानगरपालिकाकामा मेयरका लागि १४ जनाले र उपमेयरमा १८ जनाले उम्मेदवारी दिएका छन्।

के भन्छन् मेयरका उम्मेदवारहरु?

२० वर्षको विकास पाँच वर्षमा गर्छु : अजय द्विवेदी, नेपाली कांग्रेस


नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका कांग्रेस पर्सा सभापति अजय द्विवेदीले वीरगञ्जको सर्वाङ्गीण विकासको लागि मेयरमा उम्मेदवारी दिएको बताएका छन्। उम्मेदवार दर्ता गराउन मुख्य निर्वाचनको कार्यालय जिल्ला समन्वय समितिमा पुगेका द्विवेदीले वीरगञ्जको सडक, नाला, ट्राफिक, अव्यवस्थित बस्ती ,शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा चौतर्फी विकास गरी २० वर्षको विकास ५ वर्षमा गरेर देखाउने प्रतिबद्धता गरे। प्रदेश नं २ को राजधानीको विषयमा जनकपुर नै राजधानी बनाउने कुरामा नेपाली कांग्रेसले कुनै सहमति वा निर्णय गरेको अवस्था नभएको बताउँदै उनले प्रदेश सभाले त्यसको छिनोफानो गर्ने जानकारी गराए।

समृद्ध वीरगञ्जको डिपिआर तयार छ : बसरुद्दीन अन्सारी, एमाले


नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराएका मोहम्मद बसरुद्दीन अन्सारीले वीरगञ्जको विकासको अहिले नै डिपिआर तयार भइसकेको बताएका छन्। जनताले चाहेर उम्मेदवारी दिएको भन्दै उनले जनताले विकास विकास र विकास भनिरहेको बताए। महानगरपालिकाको ९ करोड रुपैयाँ कर नतिरेको आरोप छ नि भन्ने प्रश्नमा उनले चुनावमा हारबाट डराएर अतिरञ्जित किसिमले अन्य विरोधी पार्टीले सञ्चार माध्ययममा गलत समाचार लेख्न लगाएको दावी गरे ।
 

५० वर्षको विकास ५ वर्षमै गर्ने : विजयकुमार सरावगी, संघीय समाजवादी फोरम


संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्जको मेयरमा उम्मेदवारी दर्ता गराएका विजयकुमार सरावगीले ५० वर्षको विकास ५ वर्षमै गर्ने दावी गरे। २०४६ सालदेखि नेताहरुले इमान्दार भई विकास नगरेकोले मजबुर भई आफू व्यवसायी मान्छे राजनीतिमा आएको चर्चा गर्दै मेयर जिते वीरगञ्जको जनजीवन पूरै परिवर्तन गर्ने उनले बताए। शून्य प्रतिशत भ्रष्टाचारको वातावारणमा वीरगञ्जलाई समृद्ध सहरको पहिचान दिलाउने उनको प्रतिवद्धता थियो।

युवालाई रोजगार दिन्छु :  राजेशमान सिंह, राजपा नेपाल


राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट वीरगञ्जको मेयमरमा उम्मेदवार राजेशमान सिंहले आफूलाई युवाको निकै साथ रहेको बताए। युवामाझ लोकप्रिय भएकोले आफूले उम्मेदवारी दर्ता गराएको र युवासँग मिलेर सम्पूर्ण वीरगञ्जका युवाको रोजगारीको विषयमा वीरगञ्जमा कार्यक्रम ल्याउने उनले बताए। 'वीरगञ्जलाई हराभरा, स्वच्छ वातावरणको शहर बनाउँछु' ,उनले भने ।

वास्तविक सुविधा सम्पन्न शहर बनाउँछु :  रहबर अन्सारी, माओवादी केन्द्र


नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका रहबर अन्सारीले विगतको समयमा विकास नगर्ने नेताहरुलाई युवा पिढी मिली हराउने बताएका छन्। आफू चुनाव जित्न मात्र आएको नभई वीरगञ्जलाई जिताउन समेत आएको चर्चा गर्दै उनले पहिले विकास अवरोध गर्ने खेलाडीहरुले चुनाव लडथे भने हाल विकास गर्ने खेलाडीहरुले चुनावमा भाग लिएपछि उनीहरु त्रसित बनेको बताए। युवा पिढीलाई लिएर वीरगञ्जलाई वास्तविक सुविधा सम्पन्न शहर बनाउने उनले सपना देखेको बताए।

वीरगञ्जको विकास गर्न पुनः मेयर :  विमल श्रीवास्तव, फोरम लोकतान्त्रिक    


हिजै राजपा परित्याग गरी विजयकुमार गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम पार्टीमा प्रवेश गरेका विमल श्रीवास्तवले वीरगञ्जको मेयरमा उम्मेदवारी दर्ता गराए। स्थानीय रुपमा विकास गर्न वीरगञ्जको मेयरमा यसपाली पनि उम्मेदवारी दिएको उनले बताए। तीन पटकसम्म वीरगञ्जको मेयरमा विजयी भई वीरगञ्जलाई सबैभन्दा बढी विकास गर्ने नेताको रुपमा चिनिने उनले आफूले बाहेक अन्यले वीरगञ्जको लागि केही पनि नगरेको बताए।

हिन्दू राज्य कायम गराउन लड्छु : अर्जुन सिंह ठकुरी, राप्रपा  


कमल थापा नेतृत्वको राप्रपाबाट वीरगञ्जको मेयरमा उम्मेदवारी दिएका अर्जुनसिंह ठकुरीले वीरगञ्जलाई सफा, स्वच्छ र विकसित सहर बनाउनुको साथै आगामी दिनमा हिन्दू राज्य कायम होस् भन्ने विषयमा अभियान चलाई अघि बढ्ने बताए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell