PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

सडक बालबालिकाको फुटबल लिग काठमाडौंमा सुरु, खुसी नेपाल र थ्री एन्जल्सले दोहोरो जित



पहिलोपोस्ट

सडक बालबालिकाको फुटबल लिग काठमाडौंमा सुरु, खुसी नेपाल र थ्री एन्जल्सले दोहोरो जित

काठमाडौं : सेल्टर आश्रय नेपालको आयोजनामा नेपालमै पहिलो पटक राष्ट्रिय सडक बालबालिका फुटबल लिग शुरु भएको छ।

बुधबारदेखि काठमाडौंको त्रिपुरेश्वरमा शुरु भएको फुटबल लिगमा पहिलो दिन खुसी नेपाल र थ्री एन्जल्सले दोहोरो जित हात पारेका छन्।

आ–आफ्नो समुहमा दोहोरो जित हात पारेपछि दुबै टिमले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएका छन्।

समुह ए अन्तर्गतको खेलमा खुसी नेपालले आयोजक सेल्टर आश्रय नेपाल र प्रयास ओसिडलाई २-० ले पराजित गर्‍यो।

खुसी नेपालका लागि आयुश थापा र सोनु कुमार यादवले एक-एक गोल गरे। प्रयास ओसिड विरुद्ध खुसी नेपालले १-० को जित निकालेको थियो। यस खेलमा एकमात्र गोल कुमार लामाले गरे।

पहिलो खेलमा पराजित भएका सेल्टर आश्रय नेपाल दोस्रो खेलमा भने बालमन्दिरको ए टिमसँग २–२ गोलको बराबरीमा रोकियो।

प्रयास ओसिडले पहिलो खेलमा सोबर रिकभरीलाई १-० ले हराएको थियो।

समुह बी अन्तर्गतको खेलमा थ्री एन्जल्सले साङग्रिला अर्फानेज होमलाई ४–० ले र भ्वइस अफ चिल्ड्रेनलाई २–० ले हरायो। बालमन्दिरले सांग्रिलालाई २–० ले हरायो भने अर्को खेलमा भ्वइस अफ चिल्ड्रेन र लाइट हाइसले गोल रहित बराबरी खेल्दै अंक बाँढे।

सेभेन ए साइडको नियम अनुसार खेलाइएको प्रतियोगितामा सडक बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न १० वटा संस्थाका टिमहरुको सहभागिता रहेको छ।

शुक्रबारसम्म चल्ने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई छनोट गरेर रसियाको मस्कोमा अर्को वर्ष हुने सडक बालबालिका विश्वकपमा नेपालले सहभागिता जनाउने छ।

यस अघि यस प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell