PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

१८ हजार २ सयको उम्मेदवारी दर्ता



पहिलोपोस्ट

काठमाडौं : तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा भएको ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला, दलितलगायत उम्मेदवारले उत्साहपूर्वक मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।

साँझ ६:३० बजेम्म तेस्रो चरणमा निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमा १८ हजार २०० को उम्मेदवारी परेको विवरण आयोगमा प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिए। मनोनयन दर्ताको विवरण आउने क्रम जारी नै रहेकाले यकिन संख्या आउन बाँकी छ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिए पनि उम्मेदवारको अत्यधिक सहभागिताका कारण अपराह्न ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनेको बाक्लो उपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ।

कतिपय मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा साँझ अबेरसम्म पनि उम्मेदवारी दर्ता गर्नेहरुको लाम रहेको आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट जानकारी प्राप्त भएको थियो। 

मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय ५ बजेभित्र प्रवेश गरिसकेका उम्मेदवारको उम्मेदवारी दर्ता कार्य साँझ अबेरसम्म पनि सञ्चालन हुने आयोगले जानकारी दिएको छ।

यकिन विवरण आइनसकेकाले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै यो निर्वाचनमा पनि व्यापक उम्मेदवारी परेको प्रारम्भिक अनुमान गरिएको छ। तेस्रो चरणको स्थानीय तह निर्वाचन एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुँदैछ । यो निर्वाचनबाट छ हजार ६२७ प्रतिनिधिहरु निर्वाचित हुनेछन्।

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारलाई यही भदौ २४ गते निर्वाचन चिह्न प्रदान गरिनेछ।

मुलुकका सात प्रदेशका ७७ जिल्लाका ७५३ मध्ये पहिलो चरणमा गत वैशाख ३१ गते  २८३ तथा दोस्रो चरणमा ३३४ स्थानीय तहको निर्वाचन भइसकेको छ। स्थानीय सरकार गठनका लागि भइरहेको स्थानीय तहको निर्वाचन पूरा भएपछि संविधान कार्यान्वयनको एउटा खुड्किलो पार हुन्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell