PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता



पहिलोपोस्ट

महोत्तरीमा राति ११ बजेसम्म उम्मेदवारी दर्ता

गौशाला: स्थानीय तह प्रदेश नं २ को निर्वाचनमा महोत्तरी जिल्लामा राति ११ बजेसम्म उम्मेदवारी दर्ता भएको छ।

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार कुल ७२० पदका लागि उम्मेदवारी दर्ता भएको हो।

पोखरेल जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकामा भएको उम्मेदवारी दर्ता राति अबेरसम्म चलेको बताए। बिहान १० बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम रहे पनि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले बेलुका ३ बजेपछि मात्रै बढी संख्यामा दर्ताका लागि आएकोमा राति ११ बजेसम्म उम्मेदवारी दर्ताको काम चलेको मुख्य निर्वाचन अधिकृत पोखरेलले बताए।

उनले उम्मेदवारी दर्तामा खटिएका कर्मचारीले राति ११ बजेसम्म सबै उम्मेदवारको दर्ता गरिसके पनि राति २ बजेसम्म पनि कम्प्युटर इन्ट्री गर्न नसकेको र अझै पनि सो काम भइरहेकाले आज बिहान मात्रै जिल्लामा कति उम्मेदवारी दर्ता भएकोबारे स्पष्ट हुने जानकारी दिए।

दुई पत्रकार चुनावमा

यसै गरी, असोज २ गते प्रदेश नं २ मा हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाबाट दुई जना पत्रकारले उम्मेदवारी दर्ता गराएका छन्।

पत्रकार महासंघ महोत्तरी शाखाका पूर्व अध्यक्ष हरिप्रसाद मण्डलले राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट मटिहानी नगरपालिकाको प्रमुख पदमा उम्मेदवार दिएका हुन्।

त्यसै गरी, नेपाल पत्रकार महासंघ, महोत्तरी शाखाका सल्लाहकार तथा लोकपुकार साप्ताहिकका संवाददाता वैद्यनाथ चौधरीले पनि महोत्तरी जिल्लाबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्। उनले पिपरा गाउँपालिका–७ बाट वडाध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका हुन्। उनी नेपाल लोकतान्त्रिक फोरमबाट उम्मेदवार बनेका हुन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell