PahiloPost

Mar 19, 2025 | ५ चैत्र २०८१

परीक्षण सफल भएको भन्दै उत्तर कोरियाले  मनायो उत्सव



रासस

परीक्षण सफल भएको भन्दै उत्तर कोरियाले  मनायो उत्सव
फोटो श्रोतः channelnewsasia.com

प्योङ्याङ् :  उत्तर कोरियाले गत आइतबार गरेको शक्तिशाली आणविक परीक्षण सफलको खुसीयालीमा बिहीबार उत्तर कोरियाको राजधानी प्योङ्याङ्मा उत्सव मनाएको छ। 

परीक्षण गर्ने वैज्ञानिकलाई उत्तर कोरियाली नागरिकले बधाई ज्ञापन गर्दै उत्सव मनाएको बताइएको छ। 

उत्तर कोरियाको राजधानीमा दशौँ हजार नागरिक उभिएर ध्वजापताकासहित नाचगान गर्दै उत्सव मनाएका दृश्य सरकारी टेलिभिजनले देखाएको छ। 

उत्तर कोरियाली नागरिकहरुले सो आणविक परीक्षण सफलताको खुसीयालीमा यसरी उत्सव मनाउन सडकमा ओर्लिएको जनाएका छन्। 

गत आइतबार उत्तरले गरेको परीक्षण लगत्तै उक्त परीक्षण हाइड्रोजन बम भएको समाचार गर्वका साथ सार्वजनिक गरेको थियो। उत्तरले उक्त परीक्षणलाई निकै सफल भएको भनेको थियो । 

बिहीबार बिहानै दशौँ हजार नागरिक प्योङ्याङ्को किम इल सुङ स्क्वायरमा जम्मा भएका थिए। उनीहरुले विभिन्न रंगीचंगी ध्वजापताका बोकेर आपसमा बधाई ज्ञापन गर्नुका साथै उत्तर कोरियाका नेताको पनि जय जयकार गरेका थिए। 

उनीहरुले उत्तर कोरियाली नेताको जय जयकार र उनको पक्षमा नाराबाजी पनि गरेका थिए। उनीहरुले यस सफलताको पहिलो श्रेय उत्तर कोरियाली नेताको रहेको पनि सो अवसरमा बताएका थिए। 

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षणगर्दै आएको छ। केही समयमात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो। जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो। 

तर पनि यस पटकको परीक्षणलाई यसअघिको भन्दा करिब दश गुणाबढी शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ। 
विश्वमा उक्त परीक्षणको बिपक्षमा निन्दा र विरोधका स्वरहरु चर्किरहेको बेला यता उत्तर कोरियामा भने यसको सफलताका लागि उत्सव नै मनाएको छ। 

बिहीबारको उत्सव सरकारले आयोजना गरेको नभई नागरिक तहबाटै सुरु भएको खुसियाली हुनसक्ने त्यहाँबाट प्राप्त समाचारहरुमा जनाइएको छ। 

खुसियाली मनाउन जम्मा भएका नागरिकले उत्तर कोरियालाई अब संसारको कुनै पनि देशले कुनै हानी पुर्याउन नसक्ने बताएका थिए। 

उनीहरुले अब उत्तर कोरियाको आणविक शक्तिमा नै संसारको र विशेष गरी अमेरिकाको भविष्य रहने जस्तो टिप्पणी पनि सो अवसरमा गरेका थिए। 

उत्तर कोरियालाई कमजोर नठान्न र उसका क्रियाकलापहरुलाई कमजोर रुपमा नलिन पनि उनीहरुले संसारलाई सन्देश दिइरहेका थिए। 

उत्तर कोरियामाथि थप नाकाबन्दी तथा कारबाहीको घोषणा गरिँदैछ। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि उत्तर कोरियाको यस कदमको विरोध गरेको छ। उसले अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउन पनि प्रस्ताव गरेको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell