
तेह्रथुम : तेह्रथुमका स्वास्थ्य संस्थामा सामान्य अवस्थाका बिरामीलाई चाहिने औषधिको पनि अभाव भएको छ।
आर्थिक वर्ष शुरु भएपछि जिल्ला स्वास्थ्य कार्यालयले औषधि पठाउन छाडेकाले अभाव भएको हो। स्थानीय तह आफैले औषधि खरिद गर्नु पर्ने व्यवस्था रहेको भन्दै कार्यालयले औषधि नपठाएको हाे।
कार्यालयले औषधि पठाउन छाडेपछि दुई महिना यता दैनिक अत्यावश्यक औषधि अभाव भएको चुहानडाँडा स्वास्थ्य चौकीका इन्चार्ज सुशील इङ्नामले बताए। ‘दुई महिनायता औषधि सकिएको छ, निःशुल्क पाइने ३९ मध्ये अहिले दुई तीनवटा औषधि मात्रै उपलब्ध छ’, उनले भने। आठराई गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ।
‘महत्वपूर्ण औषधि सबैतिर सकिएको छ’, उनले भने,‘यसबारे कसैले चासो दिएको छैन।’ सो स्वास्थ्य चौकीमा इवा, छातेढुंगा, चुहानडाँडा र थोक्लुङका सर्वसाधारण सेवा लिन आउने गरेका छन्।
अहिले दैनिक २० देखि ३० जनासम्म बिरामी नियमित रुपमा उपचारका लागि आउने गरेका छन्।
औषधि नहुँदा सिटामोलसमेत किनेर खानुस् भनेर पठाउनु पर्ने बाध्यता रहेको स्वास्थ्य चौकीका अहेव डम्बर अधिकारीले बताए।
‘सिटामोलसमेत छैन, आइरन चक्की नहुँदा गर्भवतीले सेवन गर्न पाएका छ्रैनन्,’ उनले भने,‘शुल्क दिने अस्थायी साधन पिल्स र डिपो तथा झाडापखाला लाग्दा सेवन गर्ने जीवनजल मात्रै छ।’
सरकारले निःशुल्क बिरामीलाई वितरण गर्न निर्देशन दिएका औषधि पेटको दुखाइ कम गर्ने बुस्कोपान, ग्यास्ट्रिकको औषधि डाइजिन, बान्ता रोक्ने प्रोमिथाजिन, आँखाको समस्या भएका बिरामीलाई लगाउने मलम सिप्रोलगायत सामान्य प्रकारका कुनै पनि औषधि स्वास्थ्य संस्थामा लामो समयदेखि नभएको स्वास्थ्यकर्मीको भनाइ छ। घाउ सफा गर्ने झोल औषधि बेटाडिन नभएको महिनौँ भैर्इसकेकाे छ।
निमोनिया, ज्वरो, चोट पटक आदिका बिरामीलाई प्रयोग गर्ने एन्टिबायोटिक महिनौँदेखि अभाव भएको छ।
निमोनिया भएका बच्चालाई प्रयोग गरिने कोट्रिम नभएको लामो समय भएको उनले बताए। यसै गरी गर्भवती महिलाका लागि नभई नहुने आइरन चक्की पनि सकिएको छ।
बिरामीलाई लठ्याउने सुई जाइकोलिन र सुई लगाउनुपूर्व सफा गर्ने स्प्रिट नभएको महिनौँ बितेको छ।
इवा स्वास्थ्य चौकीमा पनि दुई सातायता औषधि अभाव छ। स्वास्थ्य संस्थाको भित्तामा स्वास्थ्य सेवा विभागले निःशुल्क रूपमा बिरामीलाई वितरण गर्ने औषधिका प्रकार र तिनको नाम सूची टाँसिएको छ तर, औषधि छैन। औषधि राख्ने दराज महिनौँदेखि रित्तो छ। भएका केही औषधिको पनि म्याद सकिएको छ।
‘बिरामीको चाप बढिरहेको छ, औषधि छैन। जिल्ला स्वास्थ्य कार्यालयमा माग गरेर पठाउँदा पनि पठाउदैन। पठाएका औषधि म्याद नाघिसके पछि मात्र यहाँ आइपुग्छन्’, ओख्रे स्वास्थ्य चौकीका इन्चार्ज पूर्ण मगरले भने।
जिल्लाका फेदाप, मेन्छ्यायेम र छथर गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीमा औषधि अभाव भएको स्थानीयवासीले बताएका छन्।
म्याङलुङ र लालीगुराँस नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामासमेत औषधि अभाव छ। जिल्ला अस्पतालमा पनि औषधि अभाव छ। नयाँ आर्थिक वर्षमा औषधि किन्नै नपाएकाले औषधि अभाव रहेको जिल्ला स्वास्थ्य प्रमुख डा मुक्तिनारायण शाहले बताए।
गाउँपालिका र नगरपालिकाले तत्कालै बजेट अभावका कारण औषधि किन्न सक्ने अवस्था नरहेको जनाएका छन्।
कोष तथा लेखा नियन्त्रक कार्यालयले सोमबार मात्रै बजेट निकासा गरेकाले औषधि किन्ने प्रक्रिया शुरु गर्न अझै केही दिन लाग्ने छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताए।
‘बजेट पास नभई खर्च गर्ने अवस्था छैन, बल्ल गाउँपालिकाको नाममा निकासी भएको छ’, उनले भने,‘तुरुन्तै निर्देशिका बनाएर औषधि किन्ने तयारी थालेको छु ।’
सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक औषधि अभाव हुनु दुःखदायी भएको उनको भनाइ छ। रासस