काठमाडौं: फिल्म रानीबाट दुई नव अभिनेताले डेब्यु गर्दैछन्, शारुक ताम्राकार र मनिषसुन्दर श्रेष्ठ। यी दुई नव अभिनेताहरु पुराना कलाकारको नामसँग जोडिएका छन्। शारुक ताम्राकार कलाकार सानु ताम्राकारका छोरा हुन्। त्यस्तै मनिषसुन्दर चाहिं अभिनेता शिव श्रेष्ठका भतिज हुन्।
नेपाली तथा नेवारी भाषाका फिल्म तथा टेलिफिल्ममा देखिएका सानु ताम्राकारले आफ्नो अनुरोधले छोरालाई फिल्ममा नखेलाएको प्रष्ट पारे। भने,'३६ वर्षदेखि यो क्षेत्रमा भएपछि मैले बनएको सम्बन्धहरुसँगको बिन्तिमा छोरालाई हिरो बनाउन सक्थें। तर मेरो छोरा आफ्नै कामले हिरो भयो।' शारुकलाई द्वन्द्व निर्देशक अष्ट महर्जनले अभिनयका लागि प्रोत्सहान गरेका बताए। शारुकले भने,'निर्देशक दयाराम दाहालले अफर गर्नु भएको हो।' सानु ताम्राकार छोराको समयमा भएको फिल्म क्षेत्रको बिकास देख्दा खुशी भएको बताए। 'छोराले त स्क्रिप्ट पढेर फिल्म साइन गरेको रे। हाम्रो समयमा त जुन रोल दिइन्थ्यो खुशी खुशी गर्नु पर्थ्यो।'
शिव श्रेष्ठका भतिज मनिससुन्दर बाइकर हुन्। 'सानोमा हिरो बन्न के गर्नु पर्छ ठूलोड्याडी भनेर सोध्थ्यो। केही अघि मलाई सोध्यो अफर आयो के गरुँ भनेर', भतिजको डेब्यु यात्रा बारे भने,'विश्वास गरेको थिईंन आज त गीत रिलिज हुने भैसकेछ।' शिव श्रेष्ठ आफ्नो भतिजको गीति भिडियो हेरेर उसको अभिनय दर्शकले मन पराउनेमा ढुक्क देखिए।
जय माँ अम्बे फिल्मसको प्रस्तुती फिल्म रानीमा अन्य कलाकार मलिना जोशी, अनुपबिक्रम शाही र सुसान खड्काको पनि मुख्य अभिनय रहेको छ। फिल्ममा दयाराम दाहालको निर्देशन रहेको छ भने फिल्मलाई भानु महर्जन र बिमल गुभाजुले संयुक्त रुपमा निर्माण गरेका हुन्। फिल्म कार्तिक २ गतेबाट सार्वजनिक हुँदैछ।