PahiloPost

Feb 1, 2025 | १९ माघ २०८१

४४ करोड रुपैयाँ बराबरको सुन सुराकी वापत कति पाइन्छ कमिसन?



सविन ढकाल

४४ करोड रुपैयाँ बराबरको सुन सुराकी वापत कति पाइन्छ कमिसन?

काठमाडौः सोमबार प्रहरीले विशेष सुराकीको आधारमा रसुवा नाका हुँदै अवैध रुपमा राजधानी भित्रिएको ८८ केजी सुन बरामद गर्यो। सुन कसको र कहाँ लैजान ल्याएको बारे प्रहरी अझै अनुसन्धानकै चरणमा छ। सुन ल्याउन प्रयोग भएका गाडीका तीन जना चालक भने प्रहरीको हिरासतमा छन्।

बरामद भएको ४४ करोड सुनको सुराकीवापत सुराकीले ३ लाख ५० हजार रुपैयाँ पाउने छन्। सुनको सुराकी दिए वापत १० प्रतिशत कमिसन पाउने व्यवस्था छ।

१० प्रतिशत सुराकी कमिसन भए पनि १० लाख रुपैयाँभन्दा बढी भए १० लाख मात्र पाउने व्यवस्था छ। ४४ करोड रुपैयाँ बराबरको सुनको १० प्रतिशतले सुराकी कमिसन ४ करोड ४० लाख रुपैयाँ भए पनि १० लाख रुपैयाँभन्दा बढी भएकाले त्यति मात्रै कमिसन पाउँछन्। त्यसमा पनि राज्यलाई २५ प्रतिशत कर कट्टा गर्दा ७ लाख ५० हजार हात पर्छ। 

यसरी आएको रकम सुराकी दिने एक्लैले पाउँदैनन्। सुन बरामद गर्ने प्रहरी प्रतिवेदकहरुमा पनि आधा हिस्सा जान्छ। ४४ करोडको सुराकी दिनेले कर कट्टापछि जम्मा ३ लाख ५० हजार पाउँछ। 

सुराकी कमिसन तुरुन्तै भने पनि पाइन्न। यो रकम लिन वर्षौं लाग्न सक्छ। प्रहरी अनुसन्धान सकिएर अदालती प्रकृया टुङ्गिएर राष्ट्र बैंकले खरिद गरिसकेपछि मात्र कमिसनको रकम हात लाग्छ। अहिले पनि प्रहरीलाई रसुवा हुँदै काठमाडौं सुन आउने गरेको सुराकी फाटफुट आइ नै रहन्छ। तर सरकारले सुन बरामद गरिसकेपछि सुराकीलाई दिने कमिसन न्यून भएकाले कम सुचना आउने गरेको एक प्रहरी अधिकृत बताउँछन्।

हप्तामा नै सय किलो सन बरामद हुन थालेपछि नियमित जसो नै सुन तस्करी भइरहेको छ भन्ने देखाउँछ। तर प्रहरीले नियन्त्रणमा भने कममात्रै लिने गरेका छन्। 

एक प्रहरी अधिकृत भन्छन्, 'प्रहरीलाई सूचना दिएर ठूलो जोखिम मोल्छन् तर राज्यले उनीहरुको कामको मूल्याङ्कन गर्दैन। अनि किन गर्छन् सुराकी?' 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले २०७० असार २३ गते चीनको तातोपानी नाकाबाट अवैध रुपमा ल्याउँदै गरेको ३५ किलो सुन बरामद गरेपछि सुराकीमा विवाद भएपछि सुराकी रकम कम गरिएको थियो।

 तस्करीको सुन बरामद बापत प्राप्त हुने वैधानिक कमिसनमा चलखेल भएपछि संसदीय समितिले कमिसन प्रावधानमा हेरफेर गरी नयाँ व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो। 

व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिको निर्देशनअनुसार कमिसन प्रावधान परिमार्जन गरी नयाँ व्यवस्था ल्याइएको हो। यसभन्दा अगाडि सुराकी दिनेले बरामद भएको सुनको रकमबाट १५ प्रतिशत र अनुसन्धानकर्ताले १० प्रतिशत कमिसन पाउँदै आएका थिए। 

यो पनि हेर्नुस्-

प्रहरीले बरामद गरेको सुनलाई राज्यले के गर्छ ?


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell