PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

राजपाको आरोपः मधेशमा अराजकता फैलनुको मुख्य जिम्मेवार माओवादी केन्द्र



आकाश क्षेत्री

राजपाको आरोपः मधेशमा अराजकता फैलनुको मुख्य जिम्मेवार माओवादी केन्द्र

काठमाडौंः राष्ट्रिय जनता पार्टीले मधेशलार्इ मुख्य तीन ठूला दलले चर‌नक्षेत्र बनाएर आफू अघाउन मात्र प्रयोग गरिरहेको आरोप लगाएको छ।

स्थानीय निर्वाचन प्रयोजनका लागि राजपा नेपालको घोषणापत्र  सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कांग्रेस, एमाले र माओवादीले मधेशलार्इ आफ्नो चरनक्षेत्र बनाएका आरोप लगाए।

महतोले भने, ‘त्यसै मधेशी दल जन्मिएका होर्इनन्, दलहरुले त मधेशलार्इ चर्ने ठाँउ बनाएका छन्, अघाउन प्रयोग गर्ने र पछि वास्ता नगर्ने।’

महतोले आफूहरु तेस्रो चरणको निर्वाचनमा चूनोतिपूर्ण तरिकाले सहभागी हुन लागेको र जिताउने वा हराउने जिम्मा जनतासँग मात्र भएको बताए। 

महतोले भने, ‘हामी चुनावमा पछि पारिएका भनेर चुनावमा आएका छैनौ, जिताउने वा हराउने जिम्मा जनताको छ।’ 

सम्मेलनमा स्थानीय तहको निर्वाचन प्रयोजनका लागि राजपाले १८ पृष्ठको घोषणापत्रमा सार्वजनिक गरेको छ।  

मधेशमा अराजकताः  माओवादी केन्द्र मुख्य जिम्मेवार 
राजपा नेपालले मधेशमा अराजकता फैलनुको मुख्य जिम्मेवार माओवादी केन्द्र भएको बताएको छ। 

चुनावी घोषणापत्रमा अन्य पार्टीहरुबारे राजपा नेपालको दृष्टिकोण  राख्दै माओवादी शक्तिका बलमा सत्ता कव्जा गर्ने नीतिबाट संचालित भएको र अधिनायकवाद तथा सार्वसत्तावादमा विश्वास राख्ने पार्टी भएको उल्लेख गरेको छ। 

माओवादीको मूल चित्र संघीयता विरोधी भएको भन्दै राजपाले मधेशमा आएको अराजकताको मुख्य  जिम्मेवार पार्टी माओवादी नै भएको उल्लेख गरेको हो।  

‘मुलुकमा व्यप्त दण्डहिनता, भ्रष्टचार, असुरक्षा एवं अराजकता माओवादी केन्द्रकै कारणले हावी भएको हो, एतिहासिक मधेश आन्दोलनका क्रममा शहिद रमेश महतोका हत्यारा र ५२ जना मधेशी शहिद सपुतहरुको हत्याका लागिसमेत मुख्य जिम्मेवार पार्टी माओवादी केन्द्र नै हो’  घोषणापत्रमा भनिएकोछ।

एमालेसँग पनि तालमेल हुनसक्ने
राजपाको एमालेसँग पनि तालमेल हुनसक्नेसमेत नेता राजेन्द्र महतोले बताएका छन्। 
दुर्इ नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको निर्वाचनमा जुनसुकै दल र मुद्धा मिले नेकपा एमालेसँग पनि तालमेल हुनसक्ने नेता महतोले बताए।

महतोले भने, ‘राजपाको विचारसँग सहमत भए एमालेसँग पनि तालमेल हुनसक्छ।’ 

यसअघि राजपाले एमालेसँग आफ्ना मधेशी मुद्धा नमिल्ने भन्दै कुनैपनि हालतमा तलमेल नगर्ने बताउँदै आएको थियो।

एमालेसहितमा दलले संविधान संशोधनको विपक्षमा मतदान गरे त्यसैका आधारमा राजपाले त्यस्ता दललार्इ मधेश विरोधी पार्टी मान्दै आएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell