काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक तथा सामाजिक रुपान्तरणमा नेपाल अगाडि बढिरहेको बताएका छन्।
नेपालको आर्थिक सामाजिक रुपान्तरणमा सहयोग गरिरहेका विभिन्न दातृ निकायको सहयोगमा राष्ट्रिय योजना आयोगद्वारा दक्षिण एशियामा खाद्य तथा पोषण सुरक्षा विषयक अन्तरराष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह तथा प्रदेश/प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएसँगै संक्रमणकालको अन्त्य भई दिगो राजनीतिक स्थायित्व आउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्रीले भने,‘गणतन्त्रलाई संस्थागत गर्न नेपालको संविधान कार्यान्वयनमा आइरहेको छ, यसका लागि स्थानीय तहको निर्वाचन केही सम्पन्न भएका र केही सम्पन्न हुने चरणमा रहेका छन्। साथै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मितिसमेत घोषणा भएको छ।’
खासगरी दक्षिण एशियामा खाद्य तथा पोषणको अवस्थाका बारेमा समीक्षा गर्दै आगामी दिनमा अपनाइनुपर्ने रणनीतिका बारेमा छलफल गर्ने ध्येयले आयोजित दुईदिने गोष्ठीमा नेपालसहित १६ देशका ११६ जनाको सहभागिता रहेको छ।
प्रधानमन्त्री देउवाले पछिल्लो समयमा नेपालले मातृ तथा शिशु मृत्युदरमा उल्लेख्य प्रगति गरेको चर्चा गर्दै पाँच वर्ष मुनिका बालबालिका, विद्यालय तहका छात्रछात्रा तथा महिलालाई लक्षित गरी खाद्य तथा पोषणका कार्यक्रमलाई समन्वय गरी थप प्रभावकारी बनाइने जानकारी दिए।
गरिबी न्यूनीकरण गर्न दिगो कृषि विकास, कृषिको उत्पादन वृद्धि, पूर्वाधार विकास, स्वास्थ्य सुधारमा सरकारले ध्यान दिएको प्रधानमन्त्री देउवाले बताए।
उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले नेपाल सरकारले खाद्य तथा पोषण सुरक्षालाई मानवीयभन्दा अधिकारमुखी दृष्टिकोणबाट योजना बनाई कार्यान्वयमा ल्याएको बताए।
उनले खाद्य तथा पोषण सुधारमा अन्तरमन्त्रालय समन्वय गरी कार्यक्रम निरन्तर जारी रहेको चर्चा गर्दै विद्यालयका बालबालिकामा पोषणमा सुधार ल्याउन विद्यालयमा खाजा कार्यक्रमसमेत सञ्चालनमा रहेको जानकारी दिए।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले आर्थिक तथा सामाजिक रुपान्तरणमा खाद्य तथा पोषण महत्वपूर्ण पक्ष रहेको चर्चा गर्दै यसै कुरालाई ध्यान दिई आयोगले दोस्रो चरणको बहुक्षेत्रीय पोषण योजना तयार पारेको बताए।
कार्यक्रममा विश्व बैंकका विज्ञ रोशन बज्राचार्यले दक्षिण एशियाली देशमा खाद्य तथा पोषणको अवस्थामा सुधार ल्याउन बैंकले आगामी दिनमा थप लगानी गर्ने जानकारी दिए। रासस