काठमाडौं : लोभलाग्दा सपनालाई घोषणापत्रमा सुत्रवद्ध गरेर चम्किएका काठमाडौंका मेयर विद्यासुन्दर शाक्यका योजना यतिखेर पानी परे हिलोमा मुछिँदै र घाम लाग्दा धुलोमा उडिरहेको छ।
स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपलिकाको मेयरकी प्रत्यासी २१ वर्षीया रञ्जु दर्शना यसरी नै ब्याख्या गर्छिन्- 'मेयर बन्नु भन्दा अगाडि पानी परेको थिएन सडकमा धुलो उड्थ्यो। अहिले पानी पर्यो हिलो छ। सय दिनमा यति मात्र फरक भयो महानगरमा।'
गत जेठ १४ गते सम्पन्न मत गणनामा शाक्यले ६४ हजार ९ सय १३ जनताको मत पाएर विजयी भए। निर्वाचन अगाडि नै युवा जोश र जाँगर देखाउदै चुनावमा होमिएकी रञ्जु भने २३ हजार ७ सय मतमा नै अड्किन्। मेयरको कुर्सीमा वसेदेखि नै विद्यासुन्दर शाक्य चर्चा रह्यो नै। चर्चा उनको कामले भन्दा अरु नै थियो। शुरुमा नै शाक्यले जनतालाई बढी सपना देखाएकाले पनि उनी असफल भएको रञ्जुको दावी छ।
रञ्जु भन्छिन्, 'ओभर प्रमिस अन्डर डेलिभरी भयो। उहाँले १ सय दिनमा १ सय काम गर्छु भन्नु त भयो। तर एउटा पनि पूरा भएन।, पहिले नै थोरै भनेर धेरै का गर्नुपर्थ्यो। कम भन्ने अनि बढी काम गर्नुपर्छ।'
मेयर शाक्यले सय दिनमा महानगरको धुलो र हिलो नियन्त्रण गर्ने आफ्नो घोषणा पत्रमा नै लेखेका थिए। मेयर शाक्यले वर्षायाममा सडकका खाल्डाखुल्डी पुर्दा बजेट बढ्ने भन्दै दसैं पछाडि काम शुरु गर्ने बताउँदै आए। रञ्जु भने जनताको सामान्य समस्यामा बजेटको लोभले कुनै काम रोक्न नहुने बताउँछिन्।
मेयरको सय दिन शून्य बराबर भएको उनी बताउँछिन्। 'सय दिनलाई नै हेर्ने हो भने उहाँ फेल हुनु भयो। बाँकी दिनमा कसरी काम गर्नुहुन्छ थाहा छैन। सय दिन सन्तोषजन छैन।' मेयर शाक्यको विलासी गाडी र मोबाइल किन्ने निर्णय पनि उनका लागी मँहगो सावित भयो। सामाजिक सञ्जालमा उनी निकै आलोचित भए। 'मेयरका लागि गाडी आवश्यक हुन्छ तर जनताको साधारण समस्या समधान नगर्दै किन्ने निर्णय गलत हो,' रञ्जु दर्शनाले थपिन्, 'यसले पहिलेको मेयर झै छनक दियो जनतालाई झनै निराश बनायो।'
तपाईँ त मेयरको कामबाट सन्तुष्ट हुनु भएन। तपाई नै मेयर भए के गर्नुहन्थ्यो त? हाम्रो प्रश्नमा उनले थपिन्, 'मैले शुरुमा नै मनोरेलको ठूलो यो त्यो सपना देखाएको थिइनँ। धुलो धुँवा नियन्त्रण गर्छु भनेको थिएँ। जनताको ज्यानै लानेगरी सडकमा खाल्डा परेका छन्। म बजेट खेर जान्छ भन्दैमा पर्खेर बस्दिनथेँ।'
उनले मेयर शाक्य जनतासँग फेमेलियर नभएको समेत आरोप लगाइन्। 'जनता फ्रेन्डली हुनुपर्छ। प्रत्येक वडामा गएर जनताको घर दैलोमा पुगेर समस्या बुझ्थेँ मभए। जनतासँगको सम्पर्क स्थापित गर्थेँ।'
अब मेयरलाई दवाव दिने गरी उत्रने समेत उनले बताइन्।