PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

साबा यू-१६ पुरुष बास्केटबल :  नेपालको पहिलो हार



पहिलोपोस्ट

साबा यू-१६ पुरुष बास्केटबल :  नेपालको पहिलो हार

घरेलु टोली नेपालले साबा यू–१६ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार पहिलो हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकद परिषद्को कभर्डहलमा शारीरिक रुपमा बलिया र अग्ला खेलाडी रहेको टोली बंगलादेशसँग नेपाल ६८-५७ ले पराजित भयो।

तेश्रो क्वाटरको समाप्तिसम्म नेपाल ४६–४१ ले अगाडि थियो। अन्तिम क्वाटरमा त्यो अग्रतालाई जोगाउन नसक्दा नेपाल प्रतिद्वन्द्वीलाई नतिजा सुम्पिन बाध्य भयो।

नेपालले पहिलो क्वाटरमा २२–१० को अग्रता लिदै सुखद सुरवात गरेको थियो। दोश्रो क्वाटर बंगलादेशले २१–१० ले आफ्नो पक्षमा पार्दै पहिलो क्वाटरमा १२ अन्तरले पछि परेको अवस्थालाई १ अंकमा झार्न सफल भयो। तेश्रो क्वाटरमा नेपालले १४–१० को प्रदर्शन गर्दै समग्रमा ५ अंकले अग्रता बनायो। अन्तिम तथा चौथो क्वाटरमा बंगलादेश २७–११ ले अगाडि रहँदै जित सुनिश्चित गर्‍यो।

बंगलादेशको जितमा तन्विर प्रोधानले १८ अंक योगदान गरे। नेपालका लागि भुटान विरुद्ध जित हात पार्दा सर्वाधिक २३ स्कोर गरेका अभिषेक सिंहले बंगलादेश विरुद्ध पनि त्यत्तिनै स्कोर गरे। आशिष बस्नेतले १०,  सन्तोष खत्री र चिरञ्जिवी रोकायाले ६–६, सयुन राईले ५, सुरेश विक र आशिष भुजेलले ३–३ तथा सतिश लामाले १ स्कोर गरे।

भुटानले प्रतियोगितामा पहिलो जित आत्मासात् गरेको छ। भुटानले माल्दिभ्सलाई ६३–५४ ले हरायो। भुटानका छिरिङ देउजोरले १७ अंक जोडे।

सुरुका तीन क्वाटर आफ्नो पक्षमा पारेको भुटानले क्रमशः २०–९, १८–१७ र १३–९ अंक जोड्यो। माल्दिभ्सले अन्तिम क्वाटरमा १९–१२ को अग्रता लिएपनि जित हात पार्न सकेन।

तेश्रो दिनको खेल सकिदा भारतले २ खेलमा २ जित, बंगलादेशले ३ खेलमा २ जित र १ हार, नेपालले २ खेलमा १–१ जित/हार तथा भुटानले ३ खेलमा १ जित र २ हार बेहोरेका छन्। तीन खेल खेलिसकेको माल्दिभ्स सबैमा पराजित छ।

प्रतियोगिताअन्तर्गत शुक्रबार माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ भने नेपालले उपाधिको प्रबल दाबेदार भारतसँग खेल्नेछ।

यसैबीच आयोजक नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले हारका बावजुद बंगलादेश विरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमलाई प्रोत्साहन स्वरुप ४५ हजार नगदबाट पुरस्कृत गर्ने घोषणा गरेका छन्।

‘जित मात्रै सबै कुरा होइन। हामी भन्दा बलियो टोली बंगलादेशसंग हाम्रा खेलाडीले कडा टक्कर दिए। टिमलाई प्रोत्साहन स्वरुप ४५ हजार नगद दिने छौं।’ अध्यक्ष शेर्पाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell