
काठमाडौं : तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि ३६ हजार ७३ जनाले मनोयन दर्ता गराएका छन्।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त पछिल्लो जानकारी अनुसार निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमध्ये प्रमुख/अध्यक्ष पदमा एक हजार ७८३, उपप्रमुख/उपाध्यक्ष पदमा एक हजार १३० र वडाध्यक्ष पदमा आठ हजार १८ जनाको मनोनयन दर्ता भएको छ।
यसैगरी, खुल्ला सदस्य २ पदमा १३ हजार ७७, महिला सदस्यमा छ हजार ३६० र महिला दलित सदस्यमा पाँच हजार ७०५ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ। उम्मेदवारी दर्तासम्बन्धी विवरणलाई प्रशोधन गरी एकीन गर्ने कार्य जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
स्थानीय तहको निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य बुधबार उत्साहजनक एवं शान्तिपूर्णरुपमा व्यापक सहभागितामा सम्पन्न भएको थियो।
तेस्रो चरणअन्तर्गत स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकाका गरी कूल छ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन्। रासस