PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

टिकट नपाएर को कहाँ पुगे? 



राधेश्याम पटेल

टिकट नपाएर को कहाँ पुगे? 

वीरगन्ज : राष्ट्रिय जनता पार्टी राजपामा टिकटका लागि दुई महामन्त्री विमल श्रीवास्तव र राजेशमान सिंहबीच लामो रस्साकस्सी भयो। 
वीरगन्ज महानगरको टिकटका लागि दुई बीचको रस्साकस्सी अन्त्य गर्दै राजपाले सिंहलाई उम्मेदवार बनाउने निर्णय गर्‍यो। तर, निर्णयको मसी सुक्न नपाउँदै श्रीवास्तवले पार्टी छाडेको घोषणामात्र गरेनन् विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरी मेयरका उम्मेदवार बने। 

राजनीतिक दलहरुले मनोनयनको पूर्व सन्ध्यामा जसोतसो टिकटको त टुंगो लगाए तर, आकांक्षीलाई सन्तुष्ट पार्न सकेनन्। पहिलो दुई चरणको निर्वाचनको तुलनामा तेस्रो चरणमा टिकटका लागि दल बदल्ने माहोल नै चल्यो। 

उम्मेदवारी टुंगो अगावै भोट भाग्दै हिँडेका टिकटका प्रत्यासीले दलहरुलाई एक प्रकारको विकल्प नै बनाए।

राजपामा मात्र हैन सबै दलमा टिकटले दल बदल्ने ‘महामारी’ प्रदेश नम्बर २ मा बन्यो। टिकटकै कारण धनुषामा कांग्रेका दुई गुटबीच खुकुरी हानाहान भयो। कतिपयले दल नफेरे पनि स्वतन्त्रका रुपमा उम्मेदवारी दिए। 

पर्साका निर्वाचन क्षेत्रमा टिकट नपाएपछि दल बदल्नेको लर्को छ। पोखरिया नगरपालिकाको मेयरमा टिकट पाउने सम्भावना नभएपछि एमाले नेता एवं पूर्व सभासद् प्रधुम्न चौहानले फोरम नेपालका तर्फबाट पोखरियाको मेयरमा मनोनयन दर्ता गराएका छन्। 
उनी केही समयअघि मात्र एमाले परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका हुन्। 

यस्तै, एमालेका केन्द्रीय सदस्य प्रल्हाद गिरीसँगै फोरम नेपालमा प्रवेश गरेका पवन तिवारीले भने टिकट विवादकै कारण नेकपा माओवादी केन्द्रका तर्फबाट पर्साको कालिकामाई नगरपालिका ५ को वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। गाउँपालिका उपप्रमुखमा दाबी गरेका तिवारीलाई फोरम नेपालले टिकट नदिएपछि माओवादीको शरणमा पुगेका हुन्। 

यस्तै, राजपा नेपालको तर्फबाट पकाहा मैनपुर गाउँपालिकाको प्रमुखमा दाबी गर्दै आएका युवा नेता धामु शर्माले पनि राजपाले टिकट नदिएपछि राजपा परित्याग गरी नयाँ शक्ति पार्टीको तर्फबाट गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका छन्। 

यस्तै, राजपा नेपालको तर्फबाट पोखरिया नगरपालिकाको मेयरमा पार्टीले टिकट नदिएपछि राजपाका नेता जोगानन्द चौहानले पनि राजपा परित्याग गरी माओवादी केन्द्रका तर्फबाट मेयरमा उम्मेदवारी दिएका छन्। 

पर्साकै बिन्दवासिनी गाउँपालिका प्रमुखमा टिकटको दाबी गर्दै आएका लक्ष्मण चौरसियालाई कांग्रेसले टिकट नदिएपछि पार्टी परित्याग गरी राजपाका तर्फबाट गाउँपालिका प्रमुख पदमा मनोनयन दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell